
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई जिम्मेबारीबाट निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगले उनलाई जिम्मेवारीबाट निलम्बन गरेको हो ।
तिम्सिनाले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यबहाक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । पत्र लेखेको र पार्टीको काममा सक्रिय नभएको भन्दै जिम्मेवारीबाट हटाएको हो ।
गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन् ।
‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनी मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ)समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ ।’ तिमिल्सिनालाई थमाइएको पत्रमा भनिएको छ।
*शीर्षकमा मुकुल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । स.

























