
विराटनगर । ‘प्रेमिकाले धोका दिएको’ भन्दै मोरङको उर्लाबारीमा आइतबार बिहान एक जना पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् ।
झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर लाइटर बाली आफ्नै शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घर नामक होटलनजिकै थापाले शरीरमा आगो लगाएका हुन् ।
उक्त होटल दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् । ‘दमकबाट उर्लाबारी आएका पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछ गर्दा प्रेमिकाले धोका दिएकाले यस्तो गरेको भनेका छन्,’ जोशीले भने, ‘थप कुरा बुझ्ने काम भइरहेको छ । विस्तृत अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।’
प्रहरीका अनुसार घटना बिहान ११ः४० बजेतिरको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले शरीरको आगो नियन्त्रणमा लिएर उद्धार गर्दै थापालाई उपचारका लागि अरनिको अस्पताल लगेको थियो ।
घाइते थापाको अवस्था मध्यम छ । कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।























