
चितवन । चितवनमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना करिब ३ साताअघिको भए पनि भिडियो सोमबार बिहानदेखि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । भिडियोमा प्रहरीले बुट लगाएको लत्ताले युवकमाथि बारम्बार प्रहार गरेको देखिन्छ ।
प्रहरीको लात्ता प्रहारबाट युवक सडकमा ढलेका छन् । कुटाइबाट जोगिन भागेका युवालाई लखेट्दै गएका प्रहरीले लात्ताले हानेर बिजुलीको पोलनजिक ढलाएको देखिन्छ । लडेकै ठाउँमा उनीमाथि बारम्बार प्रहार गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ स्थित बाइपास सडक खण्डमा पुस १५ गते राति करिब १०ः१५ बजेतिर घटना भएको हो । चितवन बसपार्कबाट आँपटारीतर्फ जाँदै गरेका युवाको समूहलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार बुलेट मोटरसाइकल र स्कुटरमा रहेका युवाहरु मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला गर्दै जाँदै थिए । त्यस क्रममा प्रहरीले रोक्न खोज्यो । त्यसपछि केही युवा भागे । केही प्रहरीमाथि जाइलागेका थिए ।
मापसे गरेर मोटरसाइकल चलाएका युवालाई नियन्त्रणमा लिने क्रममा घटना भएको डीएसपी महतो बताउँछन् । उनका अनुसार कुटिएका युवकले मापसे गरेर मोटरसाइकल चलाएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको थियो ।
कुटपिटबाट शरीरमा चोटपटक भने नलागेको उनले बताए । चेकजाँचमा खटिएका प्रहरीले ‘माथिको पावर देखाएको’ भन्दै युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका हुन् । मादक पदार्थ सेवन गरेका ती युवकलाई राति प्रहरी हिरासतमा राखेर अर्को दिन ट्राफिक प्रहरीमार्फत जरिवाना तिराएर छाडिएको समेत पाइएको छ ।
घटनाको छानबिनका लागि डीएसपी महतोको नेतृत्वमा टोली गठन गरिएको जानकारी चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले दिए । उनका अनुसार कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सिफारिस गरिएको छ ।
कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका–११ बाइपास रोड क्षेत्रस्थित गणेशस्थान प्रहरी बिटका असई (प्रहरी सहायक निरीक्षक) बुद्धिबहादुर घर्ती भुजेल रहेको पत्ता लागेको छ । असई भुजेललाई निलम्बनका लागि सिफारिस गरिसकिएको एसपी मिश्रले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाले अन्य विवरण केही समयमा सार्वजनिक गरिने उनले उल्लेख गरे ।
यहाँ क्लिक गरेर हेरौं कुटपिटको भिडियो । स्रोत : सामाजिक सञ्जाल























