
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले काम गर्न नसकेकाे बताएका छन् । प्रदेशसभाको छैठौं हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै राईले दुई ठूला दल मिलेर बनेकाे सरकारले काम गर्न नसकेकाे बताएका हुन् ।
विकास निर्माणको काम गर्नलाई सरकारले चासो नदिएको बताउँदै उनले भने,‘ सरकारको हालखबर के छ भनेर सोध्न खोजेको ।’ बजेट कार्यान्वयनका विषयमा सरकारले चासो नदिएको उनले बताए । ‘यो बिचमा उधम जिल्ला गाउँ डुलियो, यसरी डुल्दा खेरी योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनाको पनि कुनै प्रगति छैन,’ उनले भने,‘….बहुवर्षीय योजनाको काम पनि गर्नुहुन्न भने क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो त ?’
उनले सरकारको कार्यशैलीको आलोचना गरे । पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गम्भीर विषयमा हिरासतमा हुँदा सरकारले कुनै प्रतिक्रिया नदिएको बताए ।
उनले पूर्वमुख्यमन्त्रीलाई पनि आफू अनुकुल रुपमा गाडी सुविधा दिएको बताए । उनले भने ,‘पूर्वमुख्यमन्त्रीलाई सवारी सुविधा दिदा मिलाएर घुमाएर एकजनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीनै पटक विभिन्न कारणले अमान्य ठहर गरेको ।’

























