
विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले काम गर्न नसके जनताले कठोर निर्णय लिन सक्ने बताएका छन् । सोमबार सुरु प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले यस्तो बताएका हुन् ।
‘अब पनि सरकारले जनतालाई सही रुपमा अपेक्षा अनुसार काम गर्न सकेन भने राजनीतिक रुपमा जनताले फेरि अर्काे निर्णय लिन सक्छन् , त्यो निर्णय कठोर हुनसक्छ, त्यसप्रति सचेत हुन आवश्यक रहेको छ ।’
सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै उनले २०४६ सालयताका राजनीतिक नेतृत्वमा पुगेका व्यक्ती र उच्चपदस्थ कर्मचारीको सम्पति छानविन हुनुपर्ने बताए ।
‘२०४६ सालपछि राजनीतिको नेतृत्व तहसम्म पुगेका, संसद भएका व्यक्ती, अधिकृत भन्दा माथि सबै उच्च पदस्थ कर्मचारीको सम्पतिमा एक पटक पुनरावलोकन गर्नुपर्छ,’ उनले भने,‘इमान्दारिता छैन भने त्यो सम्पति गलत ठंगले आम्दानी गरेको छ भने त्यसमा छानविन हुन पर्छ ।’

























