
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर धरानको खानेपानी समस्याको विषयमा जानकारी गराएका छन् ।
साम्पाङ रित्तो गाग्रो बोकेर सोमबार काठमाडौं पुगेका थिए । नगरप्रमुख साम्पाङ धरानका बासिन्दाले भोगिरहेको खानेपानी समस्या समाधानको माग राख्दै मंगलबार मन्त्रालय पुगेका हुन् ।
त्यस क्रममा मन्त्री यादवलाई भेटेर उनले खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने र बाँकी काम संघीय सरकारले गर्नुपर्ने माग राखेका छन् । मन्त्री यादवले धरानका मेयर साम्पाङसँग भेटघाट भएको र धरानको खानेपानी समस्याका विषयमा छलफल भएको बताए ।
‘म धरानवासीप्रति सधैं सकारात्मक छु । खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु,’ मन्त्री यादवले भने । खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।
यस क्रममा मन्त्री यादवले नगरप्रमुख सम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुसीसाथ धरान फर्कन पनि आग्रह गरेका छन् । त्यसअघि धरानका लागि खानेपानीको माग गर्दै मेयर सम्पाङ मंगलबार बिहान सिंहदरबार पुगेका थिए ।
खानेपानी माग्दै रित्तो गाग्री बोकेर साम्पाङ सिंहदरबार पुगेका हुन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन उनी रित्तो गाग्री बोकेर काठमाडौं पुगेका थिए ।
तर, रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न पाएनन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनी गाग्री बाहिर राखेर मन्त्रालय प्रवेश गरेका थिए । त्यसपछि मन्त्री यादवसँग भेट गरेका हुन् ।
























