
विराटनगर । स्थानीय तहको २०७९ मा सम्पन्न निर्वाचनबाट हर्कराज राई (हर्क साम्पाङ) सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए ।
स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका उनले राजनीतिक दलका उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गरे । मेयरको कुर्सीमा पुग्नुअघि उनको बाचा थियो, ‘सप्तकोसी नदीबाट पानी ल्याएर धराने जनतालाई खुवाउने ।’ धरान सहरको ठूलो समस्या भनेकै पानीको अभाव भइरहनु हो ।
धरानेले पटकपटक राजनीतिक दलका उम्मेदवारलाई चुनाव जिताए । दलका उम्मेदवारले चुनावका बेला पानीको समस्या समाधानलाई मुख्य एजेन्डा बनाउँथे । चुनाव जित्थे । तर, चुनाव जितेपछि प्रतिबद्धता पूरा गर्नतर्फ लागेनन् ।
अनेक स्वार्थमा केन्द्रित हुँदा पानीको मुद्दा नै बिर्सिन्थे । त्यही ‘सेन्टिमेन्ट’लाई समातेर अघि बढेका साम्पाङले अन्ततः स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जिते । मेयरको कुर्सीमा पुगे । कतिपयले साम्पाङको जितलाई दलप्रतिको वितृष्णाको रूपमा पनि व्याख्या गर्ने गरेका छन् ।
जे भएपनि पानीलाई मुख्य मुद्दा बनाएर पदमा पुगेका साम्पाङले अढाई वर्षको अवधिमा धरानका लागि पानी ल्याउने प्रयास भने नगरेका हैनन् । धरानमा पानी ल्याउन मेयर सफल भएको भनेर उनको चौतर्फी तारिफ पनि भयो । तर, दीर्घकालीन समाधान खोज्नतर्फ लागेनन् ।
पानी ल्याउने भनेर हचुवाका भरमा अघि बढे । श्रमदान गरेर र गर्न लगाएर पानी पनि ल्याएजस्तो देखाए । तर, त्यसले धरानको समस्या समाधान गरेन । पानीका लागि साम्पाङले पहल र प्रयास नगरेको भन्न मिल्दैन । दीर्घकालीन समाधान खोज्न भने लागेनन् ।
साम्पाङले श्रमदानबाट खहरे खोलाको पानी ल्याएका छन् । कोकाहा, पकुवा र निसानेजस्ता खोलाबाट पानी ल्याइएको थियो । तर, कोकाहाबाहेक अन्य खोला हिउँदमा सुक्छन् । हिउँदमा पानी आइपुग्दैन ।
धरानमा खानेपानीको अभाव सुरु हुँदै गर्दा मेयर साम्पाङ भने रित्तो गाग्री बोकेर काठमाडौंतिर लागेका छन् । मंगलबार खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर उनले कोसीबाट पानी ल्याउनका लागि बजेट व्यवस्था गर्न माग गरे ।
प्राध्यापक राजेन्द्र शर्मा बर्खामा उर्लिने खहरे खोला हिउँदमा सुक्दा धरानमा खानेपानीको सधैं अभाव हुने बताउँछन् । ‘खहरेबाट पानी ल्याइएको छ । ती खोला हिउँदमा सुक्छन् । अनि कहाँबाट धरानले सधैं पानी पाउनु ?,’ उनले प्रश्न गरे । पानीको अभाव सुरु हुन थालेपछि अपजसबाट जोगिन रित्तो गाग्री बोकेर मेयर साम्पाङ काठमाडौं पुगेको शर्माको बुझाइ छ ।
‘सुक्खायाममा पानीको संकट पहिलेजस्तै हुन्छ । खै तिमिले श्रमदान गरेपनि पानी खुवाउन सकेन छौं त ? भन्ने गाली मेयर साम्पाङलाई आउँछ । अनि सरकारलाई दबाब दिने भन्दै रित्तो गाग्री बोकेर काठमाडौं हिँड्नु भयो । कोकाहाको पानी ल्याउने औचित्व पुष्टि गर्न सक्नु भएको छैन । गाली र अपजसबाट बच्न अनेक गरेको देखिन्छ,’ उनले भने । मेयर साम्पाङले खानेपानी ल्याउने भन्दा पनि ‘स्टन्ट’का लागि मात्रै त्यसो गरेजस्तो देखिने शर्माको भनाइ छ ।
धरान उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई (सूर्यबहादुर)ले खानेपानीको नाममा मेयर साम्पाङले ‘स्टन्ट बाजी’ गरिरहेको बताए । ‘हिजो खानेपानी ल्याएको हल्ला गर्नुभयो । अहिले गाग्री लिएर काठमाडौं जानुभयो । यो ‘स्टन्ट बाजी’ नभएर के हो ?,’ उनले प्रश्न गरे । खानेपानीका नाममा खोलामा खर्च भएको पैसा खोलामै गएको, तर पानी चैं नआएको भट्टराईको भनाइ छ ।
नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल पानीका नाममा हर्क साम्पाङले गरिरहेको गतिविधि गलत भएको बताउँछन् । ‘पानीका नाममा गरिएको काम ‘पब्लिसीटी’का ‘स्टन्ट’ मात्रै हुन्,’ उनले भने । ‘श्रमदानबाट पानी ल्याउँदाको हिसाबकिताब सार्वजनिक गर्नु भएन । यो सबै ‘स्टन्टबाजी’ मात्रै हो,’ उनी भन्छन् ।
मेयर साम्पाङ व्यक्तिगत चर्चा र ‘स्टन्ट’का लागि माहिर रहेको पोखरेलले बताए । ‘फेसबुकमा पानी खुवाउनु भयो । जाडोयाममै पानीको अभाव सुरु भएको छ,’ उनी भन्छन्, ‘तर, उहाँको ‘स्टन्टबाजी’ जारी छ । गर्ने त केही पनि हैन ।’
स्थानीय प्रेम राई धरानमा खानेपानीको अभाव सुरु हुन थालेपछि मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेको बताउँछन् । ‘यसअघि धरानमा पानी ल्याएँ भनेर धेरै प्रचार गर्नु भयो । तर, जाडोयाममै पानीको अभाव हुन थाल्यो । पानीको संकट निम्तिएपछि नागरिक तहबाट आवाज उठ्छ नै । ‘फेस सेभिङ’का लागि भएपनि उहाँ रित्तो गाग्री लिएर काठमाडौं जानु भएको हो । यति भएपछि म आन्दोलनमै छु भन्ने आधार बन्यो,’ राई भन्छन् ।
धरानमा दैनिक ३ करोड लिटर पानी आवश्यक पर्ने धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलले बताए । ‘अहिले पानी पुगिरहेकै छ । सुक्खायाम सुरु भएपछि भने खानेपानीको अभाव हुन्छ,’ उनले भने ।
धरानलाई आवश्यक पर्नेमध्ये भूमिगत स्रोतबाट डेढ करोड लिटर हाराहारी पानी मात्रै आपूर्ति हुने पोखरेलले बताए । ‘हिउँद लागेपछि अन्य स्रोत सुक्छन् । भूमिगत पानी पर्याप्त हुँदैन,’ उनले भने । हिउँदमा खहरे खोला सुक्ने भएका कारण भूमिगत जलस्रोतमा मात्रै भर पर्नुपर्छ ।
भूमिगत पानी उत्पादनका लागि २४ घण्टा नै मेसिन चलाउन मिल्दैन । धरानले हिउँदमा चैतदेखि जेठसम्म पानीको चरम अभाव झेल्नुपर्छ । हिउँदमा ट्यांकरमा बोकेको पानीले अभाव टार्नुपर्ने अवस्था आउँछ ।
धरानमा कोसीबाट पानी ल्याउनका लागि डीपीआर तयार भइसकेको छ । साम्पाङ मेयरमा निर्वाचित भएपछि बनेको डीपीआरमा कति खर्च भयो भनेर यकिन छैन । संघीय सरकारले बनाएको डीपीआर ‘गुपचुप’ राखिएको छ । पानी ल्याउन संघीय सरकारले थप बजेट पनि दिएको छैन । बजेट नदिएका कारण पानीको अभाव भएकाले दबाब दिन भन्दै सम्पाङ काठमाडौं गएका हुन् ।
मेयर जितेमा कोसीबाट खानेपानी ल्याउने प्रतिवद्धता जनाएर निर्वाचित भएका उनले पानी ल्याउन श्रमदान अभियान सञ्चालन गरेका थिए । श्रमदानमार्फत करिब ४२ किलोमिटर पाइप बिछ्याएर कोकाहा खोलाबाट धरानसम्म पानी ल्याइयो ।
श्रमदानबाट पानी ल्याउन ७ करोड ४ लाख १८ हजार ६ सय २२ रुपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरिएको छ । यो खर्च विवरण कोकाहा खानेपानी अभियानले बाहिर ल्याएको हो । खर्च विवरणमा ५० लाख २४ हजार रुपैयाँ खाजा खाना र पानीमा खर्च भएको उल्लेख छ ।
श्रमदानबाट पानी ल्याउँदा ज्यालाबापत २७ लाख १ हजार रुपैयाँ खर्च भएको छ । पाइप खरिदमा ३ करोड ७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । कोकाहाको पानी ल्याउन भएको खर्चले ‘डीप बोरिङ’ गरेको भए दैनिक ७० लाख लिटरभन्दा बढी पानी उत्पादन गर्न सकिने खानेपानीका जानकारहरु बताउँछन् ।
निसाने र पकुवा खोलाबाट पानी ल्याउँदा भएको खर्च विवरण भने सार्वजनिक भएको छैन । श्रमदान गरेर पानी ल्याएको घोषणा गरेका मेयर साम्पाङले त्यसबापत गरेको खर्च भने अपारदर्शी रहेको भनेर बारम्बार प्रश्न उठिरहेको छ ।
हर्क साम्पाङको रित्तो गाग्री यात्रा : खानेपानी मन्त्रीलाई भेटे, धरानको समस्या जानकारी गराए























