
काठमाडौं । उपराष्ट्रपति श्री रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरूले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायतका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल र जापानबीच ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ट एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताए ।
दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा पनि द्विपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुशी व्यक्त गर्दै, यादवले भने, ‘नेपाललाई भूकम्पलगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति धन्यवाद दिन चाहन्छु ।’
‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध रहिआएकोमा तपाईंको कार्यकालमा हाम्रो सम्बन्ध थप प्रगाढ हुनेमा म विश्वस्त छु,’ उपराष्ट्रपति यादवले भने ।
जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको बताए । उनले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद दिए ।
नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुंगा सुरुङ मार्ग यसै वर्ष सञ्चालनमा आउने बताए ।
उनले नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना पूर्वदेखि नै राम्रो र मजबुत सम्बन्ध रहेको हुँदा मेरो कार्यकालमा दुई देशबीच मात्र नभई व्यक्तिव्यक्तिको सम्बन्ध बलियो बनाउने प्रयास हुनेछ ।

























