प्रचण्डको दौडाहा : पश्चिमपछि पूर्वमा

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार २१:२६

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देश दौडाहामा छन् ।

माघ १० देखि १३ गतेसम्म पश्चिम नेपालको दौडाहा सकेका उनी आज (सोमबार) पूर्वको पहाडी जिल्ला तेह्रथुम पुगेका छन् । तेह्रथुम पुग्दा उनले पार्टीका उपमहासचिव वर्षमान पुनलाई सँगै लगेका छन् । १ साताअघि उनी विराटनगर आएका थिए । छोरी गंगाको घरमा बसेर उनले माओवादी नेता कार्यकर्तासँग भेटघाट गरे । सार्वजनिक कार्यक्रममा पनि सहभागी भए ।

कांग्रेस–एमाले सत्ता समीकरण बनेपछि फुर्सदिला बनेका प्रचण्ड पार्टीको कार्यक्रममा धौडधुप गरिरहेका छन् । हुन त सत्ताबाट बाहिर निस्कनु पर्दाको उनको छटपटीको पनि सीमा छैन । जिल्ला दौडाहाका क्रममा उनले साधारण जीवनशैली प्रस्तुत गर्ने गर्छन् । तर, उनको ‘हाइफाइ’ सामान्य छैन ।

उनले नेतृत्व गरेको सशस्त्र संघर्षका कारण मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्यो । जनतालाई युद्धमा भिडाएर सत्तामा पुगेपछि मोजमस्ती र सुखसयलमा रमाएको भन्दै उनीमाथि नकारात्मक टिप्पणी धेरै हुन्छ । विराटनगर आउँदा पनि महँगो जुत्ता लगाएको भनेर उनको आलोचना भएकै थियो ।

पार्टीमा लागेर बलिदानी दिएकालाई भन्दा परिवारका सदस्य र नातेदार उनको प्राथमिकतामा पर्छन् । तर, दौडाहामा हुँदा भने स्थानीय रहनसहन अनुसारको खानपान गर्दै सर्वसाधारणसँग पनि छलफल गर्छन् । नेपाली सेनाको हेलिकप्टरमा चढेर तेह्रथुम पुगेका प्रचण्ड पार्टीले आयोजना गरेको कार्यक्रम सकेर भोलि काठमाडौं फर्कने छन् । काठमाडौं जानुअघि विभिन्न कार्यक्रममा उनी सहभागी हुने छन् ।

तेह्रथुम तत्कालीन विद्रोह माओवादीले आफ्नो आधार क्षेत्र मानेको मध्येभित्रै जिल्ला हो । पूर्वमा माओवादीले २०५८ सालमा संखुवासभामा पहिलोपटक जनसरकारको घोषणा गरेको थियो । त्यसपछि तेह्रथुममा जनसरकार घोषणा गरेको थियो । तेह्रथुममा माओवादीको पहिलो जनसरकार प्रमुख भक्तराज कन्दङ्वा थिए । स्वर्गीय कन्दङ्वाको सालिक मंगलबार प्रचण्डले अनावरण गर्ने छन् ।

२१ वर्षअघि आजकै दिन २०५८ साल माघ १४ गते तेह्रथुमको बगालेमा तत्कालीन शाही नेपाली सेनाको गोलीबाट २१ जना मारिएका थिए । उक्त घटनामा १८ जना माओवादी लडाकु र ३ जना सर्वसाधारण परे ।

माओवादी सशस्त्र संघर्षमा रहेका बेला पूर्वी कमाण्ड सम्हालेका वर्षमान पुनलाई साथ लिएर तेह्रथुम पुगेका प्रचण्डले सामूहिक हत्या भएको घरको अवलोकन गरेका छन् । खण्डहर अवस्थामा रहेको त्यो घर अवलोकन गर्दा उनी भावुक बनेका थिए । ‘बगालेको घटनास्थल पुग्दा अध्यक्ष ज्यू भावुक बन्नुभयो,’ माओवादी नेता रघुनाथ गौतमले भने, ‘उहाँले विगतका दिन पनि सम्झनु भयो ।’

२०३०–०३१ सालतिर शिक्षकमा नाम निकालेका प्रचण्डको ‘पोस्टिङ’ पहिलोपटक तेह्रथुमको चुहानडाँडास्थित शारदा माध्यमिक विद्यालयमा भएको थियो । शिक्षकको नियुक्ति लिएर दरबन्दी भएको जिल्ला तेह्रथुम पुगेका प्रचण्ड विद्यालय विकटमा रहेको भन्दै काम नगरिकन फर्किएको थिए ।

विकटभन्दै फर्किएको तेह्रथुम पुगेर प्रचण्डले कार्यकर्ता माझ भने, ‘पढाउन गएको भए परिस्थिति अर्कै हुन्थ्यो होला । तर, अहिले हजारौं सहिदको बलिदानीले देशमा गणतन्त्र आएको छ ।’ बगाले घटना पूर्वमा भएको सबैभन्दा ठूलो हताहतीको घटना थियो ।

मृतकको सम्झनामा निर्माण भएको बगाले सहिद स्मृति पार्कको प्रचण्डले उद्घाटन गरेका छन् । सहिदको सालिकमा माल्यार्पण पनि गरे ।

‘२०५८ माघ १३ गते पाँचथरको गोपेटारको युद्ध हुँदा दुवैतर्फ ठूलो क्षति भयो । युद्धका घाइते साथीहरुलाई बगालेमा राखिएको थियो । १४ गते घरमा पसेर तत्कालीन सत्ताले घाइते साथीहरुको सामूहिक हत्या गरेको थियो,’ माओवादी कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्ले भन्छन्, ‘आजकै दिन ३ जना स्थानीयसहित २१ जना माओवादी कार्यकर्ता मारिएका थिए ।’

त्यो घटनापछि तेह्रथुममा माओवादीले आफ्नो आधार विस्तार गर्दै लगेको थियो । माओवादी नेता गौतमका अनुसार २०५८ पछि तेह्रथुममा माओवादी र राज्यपक्षबाट ठूला घटना भएनन् ।

माओवादी नेता शिवकुमार डाँगीका अनुसार तेह्रथुममा माओवादीको संगठन विस्तारमा तत्कालीन जनसरकार प्रमुख झक्तराज कन्दङ्वाको ठूलो भूमिका छ । ‘तत्कालीन लिम्बुवानमा पर्ने तेह्रथुमको जनसरकार प्रमुख घोषणा भएपछि संगठन विस्तार भएको थियो,’ डाँगी भन्छन्, ‘उहाँ ताप्लेजुङको सम्मानित व्यक्ति हुनु हुन्थ्यो ।’

प्रचण्डलाई तेह्रथुम लैजाने चाँजोपाँजो माओवादी नेता तथा प्रदेश सांसद दुर्गा चापागाईं सचिनसहितको टोलीले मिलाएका थियो । तेह्रथुम पुगेर प्रचण्डले युद्धको स्मृतिमा उल्लेख्य काम भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.