
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा प्रहरीले अल्पसंख्यक समुदायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’अन्तर्गत गाउँपालिकाको सभाहलमा करिब ८० जनाको उपस्थितिमा सोमबार अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा अल्पसंख्यक समुदायमा प्रहरीको सेवा प्रभावकारी ढंगले प्रवाह गर्ने विषयमा छलफल भएको थियो ।
प्रहरी अधिकारीहरुले अल्पसंख्यक समुदायका समस्या र गुनासाको सुनुवाइ पनि गरेका छन् । त्यस अवसरमा अल्पसंख्यक सामुदायका ८० घरधुरीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना तथा इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वय र मिक्लाजुङ गाउँपालिकाको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, समाजसेवी र स्थानीयको उपस्थिति कार्यक्रममा थियो । अल्पसंख्यकलाई विरतण गरिएको ज्याकेट गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं उद्योगी जगदीश अग्रवालको उपलब्ध गराएका हुन् ।
























