
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने स्पष्ट पारेका छन् ।
काठमाडौंमा बुधकार पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकारको डीपीआर सबै आफूले हेरेको बताउँदै यसले पाथीभराको महिमालाई अझै फैलाउने बताउनुभयो । ‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छीथान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पुर्याउने जस्ता भ्रम फैलाइएको छ,’ तर त्यस्तो अवस्था होइन, ‘कान्छीथान भन्दा १, २ सय मिटर परबाट केबलकार जान्छ र पाथीभरा भन्दा ७, ८ सय मिटर तल ‘टप स्टेसन’ बन्छ ।’
एमाले नेता एवं सांसद भट्टराईले पाथीभरामा केबलकार निर्माण भए सबैलाई फाइदा हुने भएकाले आन्दोलनको साटो वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।
यस्तो छ योगेश भट्टराईको १९ बुँदे धारणा
१, संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो ।
२. ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छभन्ने पक्षमा रहेका छन् ।
३. केबलकार निर्मण पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना हुन पुग्यो ।
४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो ।
५. जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन्।
६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्यांक अनुसार गतवर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनि यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।
७. पाथीभरालाई शक्तिको प्रतीक देविको रुपमा बुझिन्छ । खस,आर्य, लिम्बू, राई (किराँत) गुरुङ, तामाङ, शेर्पा, मगर, नेवारलगायतका सबै जात र विशेष गरी हिन्दु, बौद्ध, र किराँत धर्मालम्बीहरुको समान आस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।
८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार, जलश्रोत, पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर ताप्लेजुङवासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासाीको साझा धारणा रहेको छ ।
९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, बृद्ध–बृद्धा बालबालिका तथा अपांगता भएकालाई समेत सहज पहुँच पुगोस् भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेमा दुईमत छैन ।
१०. केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचारप्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायिकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
११. निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावणीय प्रभाव मूल्यांकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन। पवित्र कान्छीथान भन्दा केबलकार करिब २ सय मिटरको दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।
१२. ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौं । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङवासीहरुको आमसहमतिमा जिल्लामा गर्नुपर्ने विकास–निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु ।
१३, २०८१ मघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु । त्यसक्रममा घाइते भएका प्रहरी निरीक्ष लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, घाइतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।
१४, पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरु अघि बढाउन माग गर्दछु ।
१५, लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद््भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्ता भएका व्यक्तिहरुको रिहा गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।
१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै, केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्बाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।
१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपांगहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ सेयरको व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनु पर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलीय दिनु पर्दछ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनु पर्दछ ।
१८, पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीले लिनु भएको तत्परताप्रति धन्यवाद व्यक्त गर्दछु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।
१९. ताप्लेजुङको सम्रग विकासमा एकताबद्ध रुपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सबैमा अपिल गर्दछु ।























