
विराटनगर । कोशी प्रदेशमा उत्कृष्ट प्रहरी पुरस्कार स्थापना भएको छ । प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी र सुनसरीको धरान उपमहानगरपालिका–१ का ८४ वर्षीय धनन्जय आचार्यबीच सम्झौता भएको छ ।
उनीहरुबीच कूल १ लाख ४२ हजार धनराशिको ‘देव कुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’को सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट डीआईजी अधिकारी र पुरस्कार दाताको तर्फबाट आचार्यले सम्झौताका सर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन् ।
उक्त पुरस्कार प्रदेशका १४ वटै जिल्लाबाट वर्षभरिमा उत्कृष्ट हुने प्रहरीलाई प्रदान गरिने । प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा २ जना महिला र २ जना पुरुष गरेर ४ जना प्रहरीले ३५ हजार ५ सय रूपैयाँका दरले पुरस्कार पाउने छन् ।
सिनियर प्रहरी अधिकृत भएमा १ जनालाई मात्रै पुरस्कार प्रदान गर्ने सम्झौता छ । सम्झौता अनुसार प्रत्येक वर्ष संस्थापक वा प्रतिनिधिले पुरस्कार प्रदान गर्ने छन् ।
पुरस्कार दाता आचार्यले समाजमा शान्ति सुव्यवस्था कायम राख्न जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि अहोरात्र खटिएर उल्लेखनीय कार्य गर्ने व्यावसायिक प्रहरी कर्मचारीहरुको मनोबल र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुरस्कार प्रदान गर्ने आफ्नो इच्छा रहेको बताए ।
डीआईजी अधिकारीले पुरस्कारका कारण प्रहरीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । उनले पुरस्कार दातालाई धन्यवाद दिँदै आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख एसएसपी जयराज सापकोटा, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगू धरान–१ का वडाध्यक्ष यज्ञमणी आचार्यलगायत उपस्थित थिए ।
























