
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारीकरण गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कोशी प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै उनले सरकारीकरण गर्ने कानून ल्याए राज्य नै असफल हुने अवस्था आउने बताए ।
निजी विद्यालयहरु सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेको बताउँदै उनले सरकारीकरण गर्नु आवश्यक नरहेको तर्क गरे ।
मुख्यमन्त्री कार्कीले पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नु पर्ने बताए । संविधानले तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गरेको बताउँदै उनले हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगरे कुनै पनि योजना सफल नहुने बताए ।
मुलुकको आर्थिक सम्वृद्धिको अघि बढ्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्दै उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताए ।

























