
विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो चरणमा बाँकी रकम उपलब्ध गराउने बैंकले जनाएको छ । महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख कमल बस्नेत, विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा, बजार व्यवस्थापक समीक्षा पोखरेलले चेक हस्तान्तरण गरे ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई बैंकले चेक हस्तान्तरण गरेको हो । विराटनगरमा ३ सहित कोशी प्रदेशमा सिद्धार्थको ३० वटा शाखा रहेका छन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ ।
सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।
सिद्धार्थ बैंकसहित १६ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २९ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्याइरहेका छन् ।
हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र बिरुवासमेत रोपिसकिएको दाहालले बताए ।

























