
विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयलाई लिएर समाज दुई भागमा विभाजित भएको छ ।
स्थानीयबासीसँगै त्यहाँका जनप्रतिनिधिहरु केबलकार निर्माणको पक्षमा उभिएका छन् । एउटा पक्ष केबलकारको विरोधमा उत्रिएको छ । यो पक्षले राजधानी काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ ।
केबलकारको विरोधमा रहेको समूहले आन्दोलन गरिरहँदा पक्षमा रहेको समूह भने जसरी पनि केबलकार बनाउनुपर्ने अडानमा छ । केबलकार बनाउनुपर्ने पक्षमा अधिकांश स्थानीय र जनताप्रतिनिधि छन् ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन र वडाध्यक्षहरुसहित स्थानीयले सोमबार पत्रकार सम्मेलन गर्दै ताप्लेजुङको विकासका लागि केबलकार चाहिने बताए । उनीहरुले स्थानीयबासी केबलकारको विपक्षमा छन् भन्ने हल्ला नफैल्याउन पनि माग गरे ।

तर, पहिचानवादी दल र जातीय संगठनहरु भने धार्मिक आस्थामाथि प्रहार हुने भन्दै केबलकार निर्माण खारेजीको माग गर्दै संघर्षमा छन् । केबलकार निर्माण विवाद उत्कर्षमा पुगेका बेला ताप्लेजुङका जनप्रतिनिधि र बहुसंख्यक स्थानीय निर्माणको पक्षमा उभिएका हुन् ।
केबलकारले पहिचान, धर्म, संस्कार र संस्कृतिमा असर नगर्ने उनीहरुले स्पष्ट पारेका छन् । उनीहरुले जिल्लावासी र जनप्रतिनिधि केबलकारको विपक्षमा नरहेको बताए ।
मेयर मादेनसहित वडाअध्यक्षले ‘नो केबलकार समूह’मा जिल्ला बाहिरका केही व्यक्ति सक्रिय रहेको बताए । जिल्ला बाहिरका केबलकार विरोधी पक्षले आन्दोलन गरिरहेको उनीहरुको भनाइ छ ।
‘ताप्लेजुङमा केबलकार निर्माणको विरोध गर्नेमा बाहिरका व्यक्तिहरु धेरै छन् । जो ताप्लेजुङमा विकास निर्माण भएको हेर्न चाहँदैनन् । यहाँ हुने विकासले जिल्लाको समृद्धिमा टेवा पुग्छ । तर, ताप्लेजुङमा विकास गर्न नदिने समूह सक्रिय छ । यो दुःखद् हो,’ मादेनले भने । घटना र परिस्थिति हेर्दा पनि मादेनले भनेजस्तै देखिन्छ ।
किनभने आन्दोलनमा घाइते हुने, पक्राउ पर्नेदेखि वार्ता टोलीका सदस्यहरु अधिकांश ताप्लेजुङ बाहिरका छन् । आन्दोलनकारीका तर्फबाट बनाइएको वार्ता समितिमा पनि ताप्लेजुङलाई प्राथमिकतामा राखिएको छैन । ताप्लेजुङको सरोकारको विषयमा जिल्लाभन्दा बाहिरका व्यक्तिहरुले बढी चासो र सक्रियता देखाएर केबलकारको विरोध गरिरहेको पाइन्छ ।
पाथीभरामा केबलकार निर्माणको चर्चा ३ दशकअघि देखि नै सुरु भएको थियो । केबलकारको पक्षमा सुरुदेखि नै जिल्लाका नागरिक रहेको उनीहरुको दाबी छ । केबलकार बनेपछि ताप्लेजुङको विकास हुने उनीहरुले बताए ।
ताप्लेजुङको विकासका विषयमा देश विदेशबाट चासो राख्नु सकरात्मक भएपनि केबलकारको विषयमा अनावश्यक भ्रम फैलाइएको मादेनले बताए । उनले ताप्लेजुङका नागरिक केबलकारको सधैँ पक्षमा रहेको दाबी गरे ।
बाहिरबाट मान्छे लगेर गरिने आन्दोलनले स्थानीयको आशा र अपेक्षामा कुठाराघात गरेको उनको भनाइ छ । ‘जिल्लाभित्रका जनता यहाँ विकास भएको हेर्न चाहन्छन् । उनीहरु जसरी पनि केबलकार बनाउनुपर्छ भनेर लागेका छन्,’ मादेनले भने, ‘तर, धर्म र संस्कृतिलाई अनआवश्यक रूपमा जोड्दै तथ्यलाई तोडमोड गरेर ताप्लेजुङको विकासविरुद्ध गतिविधि भइरहेका छन् । त्यसमा बाहिरका व्यक्तिहरु बढी सक्रिय छन् ।
सरकारले गठन गरेको वार्ता समिति र केबलकारको विपक्षमा रहेको पक्षबीच ६ बुँदे सहमति भएको थियो । यातायात बन्द फिर्ताका लागि ६ बुँदे सहमति भएपनि मुख्य मुद्दा केबलकार निर्माण गर्ने कि नगर्ने भन्ने विषयमा सहमति भएको थिएन ।
सोही विषयमा छलफल गर्ने तयारी भइरहँदा आइतबार वार्ता भाँडियो । सरकारी पक्ष केबलकार निर्माण गर्ने र आन्दोलनरत पक्ष कुनै पनि हालतमा बन्न नदिने अडानमा उभिएकाले समस्या भइरहेको छ । दुवै पक्ष आआफ्नो अडानमा अडिग हुँदा समस्या समाधानका लागि मध्यमार्गी उपाय पनि अवलम्बन गरिएको छैन ।
केबलकारको विषयलाई राजनीतिकरण गरेको फुङलिङ नगरपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । उनीहरुले केबलकार निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । परियोजना निर्माण भए ताप्लेजुङले बढी लाभ लिने र रोजगारीको अवसर सृजना हुने उनीहरुको भनाइ छ ।
ताप्लेजुङको वृहत् विकास परियोजनाको निर्णय जिल्लाभन्दा बाहिरका मानिसहरु बसेर गर्न खोज्नु दुःखद् भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । ‘पाथीभरामा केबलकार ताप्लेजुङबासीको सरोकारको विषय हो,’ पक्षमा रहेकाहरु भन्छन्, ‘बाहिरबाट आएर अनआवश्यक भ्रम सिर्जना गर्दै विपक्षमा आवाज उठाएर हुन लागेको विकासलाई भाँड्ने प्रयास भइरहेको छ ।’
केबलकारविरुद्धको आन्दोलनमा पहिचान पक्षधरहरुले बाहिर जिल्लाबाट समर्थक ल्याएर आन्दोलन गरिरहेका छन् । सरकारसँगको वार्ताका क्रममा पनि ताप्लेजुङभन्दा बाहिरकालाई राखिएको उनीहरुको आरोप छ ।

केबलकारको विपक्षमा रहेको पक्षाले सार्वजनिक गरेको वार्ता टोलीका सदस्यको सूचीमा ताप्लेजुङ बाहिरका मात्रै छन् । वार्ता टोलीमा रहेकी सरस्वती सिंघक सरु झापाको बासिन्दा हुन् । उनको माइती घर ताप्लेजुङ हो ।
वार्ता टोलीमा रहेका यासेली योङहाङ पाँचथर, सूर्यविक्रम चेम्जोङ (जसपा नेता) धनकुटा, खगेन्द्र माखिम पाँचथर, सन्तोष मेहता (राष्ट्रिय मुक्ति पार्टी) सुनसरी, दिलकुमार लावती (नागरिक उन्मुक्ति पार्टी) पाँचथर, आङकाजी शेर्पा (जसपां) सोलुखुम्बु, राजकुमार नाल्बो (नेपाल जनमुक्ति पार्टी) काठमाडौं र रन्धोज तम्लिङ्ग पाँचथरका हुन् ।
ताप्लेजुङ जिल्लाका राजनीतिक दल, जिल्लाका संघ संस्था, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधिहरु, जिल्ला उद्योग वाणिज्य संघ, होटल एसोसिएसन, निर्माण व्यवसायी महासंघ र स्थानीय अभियन्ताले समितिमा जिल्लाको सरोकार भएका व्यक्ति नरहेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
केबलकार विवादमा गत माघ १२ गते सुरक्षाकर्मीसँग झडप हुँदा प्रहरीको गोली लागेर २ जना घाइते भएका थिए । घाइते भएका यामबहादुर लिम्बू तेह्रथुमको म्याङलुङ नगरपालिका–९ र सुगन लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का हुन् ।
साथै, आन्दोलनका क्रममा पक्राउ परेकाहरु पनि प्राय जिल्ला बाहिरका छन् । वार्ता टोलीका सदस्यदेखि घाइते हुने र पक्राउ पर्नेहरु ताप्लेजुङभन्दा बाहिरका हुनुले पनि ताप्लेजुङभित्रको समस्यामा बाहिरबाट चासो बढी राखेको स्पष्ट हुने सरोकारवालाको भनाइ छ ।
केबलकार निर्माणको विरोधमा अहिले संघीय राजधानी काठमाडौं केन्द्रीत आन्दोलन भइरहेको छ । निर्माण क्षेत्रमा भने केबलकारको काम भइरहेको छ । त्यसमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले साथ दिइरहेका छन् ।
केबलकारको विरोधमा रहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन आस्था र पहिचानको विषय भएकाले पहिचान रक्षाका लागि आन्दोलन भइरहेको बताउँछन् । उनले केबलकार निर्माण तत्काल रोकिनुपर्ने बताए । निर्माण नरोकिए संघर्षलाई थप सशक्त बनाइने येक्तेन बताउँछन् ।
वार्ता टोलीका सदस्यसमेत रहेका पहिचानवादी मोर्चाका सदस्य खगेन्द्र माखिम मुक्कुम्लुङमा केबलकार बन्न नहुने बताउँछन् । केबलकार निर्माण खारेज नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ । जिल्लाभन्दा बाहिरका मान्छेले आन्दोलन गरे भनेर गलत भाष्य निर्माण गरिएको माखिमले बताए ।
‘मुक्कुम्लुङ भनेको लिम्बू समुदायको आस्थाको केन्द्र हो । मन्धुमस्थल भएकाले सबै लिम्बूहरुको सरोकारको विषय हो । त्यसको संरक्षणका लागि सबैले आन्दोलन गर्न सक्छन् । जिल्लाभन्दा बाहिरका ल्याएर आन्दोलन गरे भन्नु गलत हो । दलाली र माफिया भाषा हो,’ उनले भने । माखिमले केबलकारका लगानीकर्ता चन्द्र ढकाल पनि ताप्लेजुङको बासिन्दा हुन् त ? भनेर प्रश्न गरे ।
यसैबीच, पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध संघर्षरत पक्षले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरिएको हो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुम्लुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ गर्ने, काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत छन् । यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको र वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको आन्दोलनरत पक्षको भनाइ छ ।
सरकारले निर्णायक वार्ता समिति बनाउन नचाहेकाले थप संघर्षका कार्यक्रम घोषणा गर्नु परेको माखिमले बताए । आफूहरुले मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्न चाहेको उनको भनाइ छ ।
























