बढी ब्याजको लोभमा जहाँसुकै रकम जम्मा नगरौं

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार १८:२८

जसरी हुन्छ, पैसा कमाउने । अरुको हित होस् कि अहित, पैसा हात पार्ने । यस्तो प्रवृत्ति अनेक रूपबाट समाजमा प्रकट भइरहेको छ । पहिले सहकारी संस्थाहरु प्रभावशाली मानिन्थे । कम आय भएकाहरुले सकेको रकम जम्मा गर्ने अनि आफूलाई अभर परेका बेला ऋण लिएर गर्जो टार्ने चलन थियो ।

बिस्तारै अनुचित गतिविधि र रकम अपचलन गर्ने क्रम बढ्दै जाँदा सहकारीहरु बदनाम भए । करोडौं, अरबौं रकम अपचलन भएको सन्दर्भमा विभिन्न सहकारी विवादमा परेका छन् । तिनका पदाधिकारी अनुसन्धानको दायरमा आएका छन् । कतिपयलाई सजाय पनि भएको छ ।

यसै मेसोमा अरुको पैसा आफूसँग ल्याएर ठगी गर्ने गरेको अर्को एउटा उदाहरण हालै सार्वजनिक भएको छ । नियमानुसार वित्तीय कारोबारै गर्न नपाउने सुनचाँदी पसल (ज्वेलर्स) मा सर्वसाधारणको रकम जम्मा गर्ने गरेको खुलेको छ ।

घटना विराटनगरको हो । वित्तीय संस्था तथा बैंकबाट गर्नुपर्ने कारोबार लामो समयदेखि सुनचाँदी पसलबाट भइरहे पनि नियमन र नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिँदा यस्तो प्रवृत्ति फस्टाउँदै गएको उदाहरणका रूपमा यो घटना बाहिर आएको छ ।

वित्तीय संस्थाजस्तै ‘पास बुक’ राखेर ज्वेलर्सबाट गरिने कारोबारका कारण सर्वसाधारणको लाखौं रूपैयाँ जोखिममा परेको मात्र होइन कतिपयको ठूलो रकम डुबेको छ । वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्छ । सुनचाँदी पसल वित्तीय संस्था होइन, यस्तो कारोबार गर्न पाइँदैन ।

अनुमति सुनचाँदीको कारोबार गर्ने लिने अनि काम भने वित्तीय संस्था र बैंकको जस्तो गर्ने गरेको पाइएको छ । त्यस्तो कारबोबार गर्ने १ जना सुनचाँदी पसल सञ्चालक प्रहरीको नियन्त्रणमा छन् । विराटनगर महानगरपालिका–७ मेन रोडमा चाँदनी गहना सो–रुम नाम दिएर सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बैंकहरुले जस्तै ‘पास बुक’ प्रयोग गरी उनले लामो समयदेखि वित्तीय कारोबार गर्दै सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेका थिए । यसबारे गुनासो बढेपछि फरार भएका श्रेष्ठलाई माघ २१ गते सुनसरीबाट पक्राउ गरिएको हो । उनीबाट ठगिएकाहरु जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने क्रम जारी छ । जाहेरी दिनेहरुको भनाइ अनुसार ८६ लाख रूपैयाँभन्दा बढी ठगी भएको छ ।

आकर्षक ब्याज दिने लोभ देखाएर रकम जम्मा गर्न प्रोत्साहित गर्ने अनि बचतकर्ताहरुबाट ठूलो रकम संकलन भएपछि दुरुपयोग गर्ने गरेको पाइएको छ । श्रेष्ठले एकै व्यक्तिबाट १९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको समेत पाइएको प्रहरीको भनाइ छ ।

यो घटना चर्चामा आएपछि उनीबाट ठगिनेहरुको संख्या धेरै रहेको प्रहरीले जानकारी पाएको छ । अझै पनि ठगिनेहरुले उजुरी दिने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले अवैध वित्तीय कारोबारमार्फत सर्वसाधारणको करोडौं रूपैयाँ ठगी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अनुमति बिना वित्तीय कारोबार गरेका उनीविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

अवैध हिसाबले वित्तीय कारोबार गरी सर्वसाधारणबाट ठगी गरेको रकम श्रेष्ठले घरजग्गा खरिद लगायतका व्यक्तिगत लाभ लिने प्रकृतिको काममा खर्च गरेको पाइएको छ । आर्थिक अवस्थामा देखिएको शिथिलतासँगै बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज रकम निरन्तर घटाउँदै गएका छन् । यस्तो अवस्थामा सर्वसाधारणले अन्यत्रभन्दा अलि बढी ब्याज पाउने आशामा सुनचाँदी पसलमा पैसा राख्ने गरेको पाइएको छ ।

यसरी कारोबार गर्नु गैरकानुनी हो भन्ने कतिपय बचतकर्तालाई थाहा नभएको हुन सक्छ । कतिपयले जानेरै पनि ब्याजकै लोभमा त्यसो गरेको पनि हुन सक्छ । तर, यसो गर्नु कानुनसम्मत भने होइन । यस्तो गतिविधिबारे पर्याप्त रुपमा चेतनामूलक जानकारी प्रवाह गर्न आवश्यक देखिएको छ ।

कुनै पनि खाले वित्तीय कारोबार अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट मात्रै गर्नुपर्छ । त्यसो गरेको खण्डमा सम्बन्धित संस्थाले कुनै गल्ती, कमी कमजोरी र फटाइँ गरे नियमानुसार कारबाही हुने र आफ्नो रकम फिर्ता हुन सक्ने सम्भावना धेरै हुन्छ । नत्र नियमविपरीत रकम संकलन गर्ने अनि धेरै जम्मा भएपछि भाग्ने प्रवृत्ति दोहोरिइरहने हुन्छ । यसमा सबै सचेत हुनुपर्छ ।

त्यसैले सुनचाँदी पसलबाट अवैध हिसाबले गरिने वित्तीय कारोबार सर्वसाधारणका लागि अति नै जोखिमपूर्ण हुन्छ । सुनचाँदी पसल भनेको सुन र चाँदीलगायतका धातुजन्य वस्तु खरिद बिक्री गर्ने, अनि गहना बनाउने र मर्मत गर्ने ठाउँ हो । बैंक जस्तो आर्थिक कारोबार गर्ने थलो होइन भन्ने सबैले बुझ्नुपर्छ । बुझेकाले अरुलाई पनि बुझाउनुपर्छ ।

यसका लागि प्रहरी, प्रशासनसहित सम्बन्धित अरु निकाय, सुनचाँदी व्यवसायीहरुको पेसागत संस्थाहरुले पनि सर्वसाधारणसम्म जानकारी पुर्याउन सके एकातिर ठगिनबाट जोगिन मद्दत पुग्छ भने अर्कातिर पेसाको बदनामी हुनबाट पनि बच्न सकिन्छ । होइन भने सर्वसाधारण ठगिने अनि सम्बन्धित पेसा झन् झन् बदनाम हुँदै जाने क्रम रोकिने छैन ।

विशेष गरेर यस्ता गलत प्रवृत्तिको अन्त्य गर्न राज्यको ध्यान जान जरुरी छ । सर्वसाधारणले पनि बढी ब्याजको लोभमा जस्तोसुकै ठाउँमा रकम जम्मा गर्न हुँदैन ।

तपाइको प्रतिक्रिया
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×