कविता: समयको सँगालो

Share this
648shares
मुलुकी खबर
दिलकुमार घमाल
clock२०८१ माघ २९, मंगलबार १२:५७

समय बगेको नदी हो
जसलाई थाम्न सकिन्न
स्मृतिहरू बालुवामा
कोरिएका अक्षरजस्तै
हराउँछन् हावा चल्ने बित्तिकै ।

जीवन एक यात्रा हो
जसको कुनै स्थिर गन्तव्य छैन
कहिलेकाहीं उज्यालो
घामजस्तै प्रकाशमय
कहिलेकाहीं बादलभित्र
हराएको जूनजस्तै मौन ।

हिजो सम्झँदा मन रसाउँछ
भोलिको सपना देख्दा
हृदय झन् धड्किन्छ
तर अहिलेको क्षण ?

अहिलेको क्षण त मुठ्ठीमा चुरोटजस्तो
पक्डौँ भने जल्दै जान्छ
छोडौँ भने उड्दै जान्छ ।

समयको चाल तीव्र छ
बाफ बनेर उड्न नदिनू
ओसिलो माटोजस्तो बन्नुपर्छ
जसले जरा गाड्न सकोस्
बितेको समय फर्केर आउँदैन
तर बाँचिएको क्षण अमर हुन्छ ।

जीवन जिउने हो गन्ने होइन
समयलाई पछ्याउने होइन
त्यसलाई साथी बनाएर अघि बढ्ने हो
समयलाई जसले साथी बनाउँछ
उसले सफलताको पहाड
सजिलै चढ्न सक्छ 

त्यसैले समयलाई हृदयको कुनामा
सँगालेर राख्नुपर्छ
जसले जिन्दगीलाई
हरक्षण सुगन्धित बनाओस् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.