
काठमाडौं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानका क्रममा एएन–१२ विमान केमेरोभो क्षेत्रको सुनसान स्थानमा दुर्घटनाग्रस्त भएको हो।
स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँनजिक दुर्घटनामा परेको जानकारी दिएका छन्। दुर्घटनास्थलमा पुगेका आपतकालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिएका थिए।
प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण हुन सक्ने आशंका गरिएको छ। रुसी उड्डयन अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्।
गभर्नर सेरेड्युकले घटनास्थलमा हेलिकप्टर तथा चिकित्सा सहायता तयारी अवस्थामा राखिएको बताउँदै अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।
दुर्घटनाग्रस्त विमानमा कुनै सामान लोड गरिएको थियो वा थिएन भन्नेबारे स्पष्ट भइसकेको छैन। रुसी सेनाले एएन–१२ विमानलाई हतियार तथा सैन्य कर्मचारी ढुवानी, खोजी र उद्धार कार्यमा समेत प्रयोग गर्दै आएको छ।

























