
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष निर्वाचित भएका छन् ।
पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षका प्रतिस्पर्धी नेत्र चापागाईंलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । भट्टराई विजयी भएको औपचारिक घोषणा भने भइसकेको छैन । आज (बिहीबार) साँझ ५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने तयारी छ ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आजै राखिएको छ । पत्रकार सम्मेलनमा डा. भट्टराईले विशेष सम्बोधनसमेत गर्ने तयारी छ । नयाँ शक्तिको महाधिवेशन गत आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको थियो ।
नेतृत्व चयनका लागि भने निर्वाचन भएको हो । भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भइसकेको छ ।

























