
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।
सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिने संसद सचिवालयले जनाएको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउने कार्यसूची छ ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

























