
विराटनगर । स्वीस सरकारका प्रतिनिधिले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आज (आइतबार) भेटेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधि मण्डल तथा मुख्यमन्त्री कार्कीबीच भेटवार्ता भएको हो । त्यस क्रममा कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका छन् ।
७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै उनले यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे । उनले नेपालको संघीयता र संविधान कार्यान्वयनका लागि स्वीस सरकारले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।
वित्तीय संघीयता बलियो बनाउन स्वीस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै कार्कीले थप सहयोगको अपेक्षा गरेका छन् । पछिल्लो समय राजनीतिक स्थिरता कायम भएको र यसको जगमा सरकारले आफ्नो कामलाई द्रुत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले थप सहयोग गर्न आग्रह गरे ।
कोशी प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी भइरहेको जानकारी दिँदै उनले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरे ।
भेटवार्ताका क्रममा हेड अफ कोपरेसन म्याथिस मेयरले संघीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताए । प्रदेश सरकारले ७ वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीयता कार्यान्वयनमा स्वीस सरकारको सहयोग रहने बताए ।
उनले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाका लागि सहयोग गर्न रहने स्पष्ट पारे । राजस्व वृद्धि र पर्यटन प्रवर्धन गर्ने काम राम्रो भएको चर्चा उनले गरेका छन् ।
स्वीस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकोमा उनले खुसी व्यक्त गरे । द्विपक्षीय भेटघाटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी र विक्रम लुइँटेल सहभागी थिए ।

























