
काठमाडौं । प्रतिनिधिसभाको प्रश्नउत्तरका क्रममा सांसद प्रभु साहसँग प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन् । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखेका थिए ।
प्रधानमन्त्रीलाई उनको प्रश्नमा चित्त बुझेन । उनले सांसद साहको प्रश्न संसदको गरिमा विपरित भएको बताए ।
‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन्,’ उनले भने,‘ संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावरको मान्छे हुँ ?’
उनी त्यतिकैमा रोकिएनन् र फेरि भने,‘म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’
प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् ।
‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन,’ उनले भने, ‘मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’
आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए ।

























