
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताएका छन् ।
जहानियाँ राणा शासनविरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आजको दिन रैतीबाट जनता भएको दिन भनेर उल्लेख गरेका छन् ।
‘फागुन ७ गते आज हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो । बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो । गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’, ओलीले लेखेका छन् ।
ओलीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहिद हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत अमर सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान,’ ओलीले भनेका छन् ।

























