
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ७४ औं जन्मदिन आज (आइतबार) परेको छ । जन्मदिनको अवसरमा कुनै विशेष कार्यक्रम भने राखिएको छैन ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन । आज दिउँसो २ बजे यसै अवसरमा ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु । त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’
मोहनप्रसाद ओली र मधु ओलीको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओलीको जन्म भएको थियो । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
ओली तत्कालीन नेकपा मालेको संस्थापकमध्येका नेता हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेदेखि लगातार पार्टीको अध्यक्ष छन् ।
पछिल्लो पटक २०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथोपटक प्रधानमन्त्री रहेका छन् ।

























