
विराटनगर । कोशी प्रदेशसभा बैठकमा राप्रपा सांसदले उठाएको विषयमा सवाल जवाफ भएपछि सभामुखले दुई वटा शब्दलाई संसदकाे रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।
आइतबारको प्रदेशसभा बैठकमा राप्रपा सांसद शोभा बजगाईंले व्यक्त गरेको शब्दमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदले विरोध जनाएपछि सभामुख अम्बरबहादुर विष्टले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने क्रममा राप्रपा सांसद सविना बजगाईंले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा व्यक्त गरेको शुभकामना सन्देशपछि केही दलका नेताले जेलमा थुन्ने चेतावनी दिएको गुनासो गरिन् । ‘जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिया ठान्ने केही नेताहरुले राजालाई थुन्ने अभिव्यक्ती सञ्चार माध्ययममा आएको देखिएको छ, यसको म घोर निन्दा र भत्सना गर्छु,’ उनले भनिन्,‘ यो सबै अभिव्यक्ती विदेशबाट आउने डलरको भरमा आएका हुन् ।’
त्यसपछि उनले हिम्मत भए थुनेर देखाउन चुनौति दिइन् ।
बजगाईंले ‘डलर खाएको’ अभिव्यक्ती दिएपछि एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ती गर्दै भने,‘माननीयज्यूले डलर खानेहरु भनेर सदनमा अप्रमाणित कुरा सम्मानित सदनमा उठाउनु भएको छ, उहाँसँग प्रमाण भए पेश गर्न अनुरोध गर्छु, यदी नभए फिर्ता गराउन सभामुखज्यूलाई अनुरोध गर्छु ।’ माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले राजालाई संसद र संविधानले नचिन्ने भएकाले रेकर्डबाट हटाउन माग गरे ।
लिङथेपको रुलिङपछि सभामुख बिष्टले थप विषय भए पुष्टि गर्न बजगाईंलाई समय दिए । बजगाईंले प्रमाण दिन सकिनन् तर संघीयता धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्ययमबाट डलर भित्रिएको कुरा अमेरिकाका राष्ट्रपतिबाट सार्वजनिक भएको दाबी गरिन् । उनले सोही विषयलाई टेकेर डलरबादी भएको दाबी गर्दै भनिन्,‘धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट परिचालित छ, यो गणतन्त्र यहीँ सदनबाट खारेज गर्न माग गर्न चाहान्छु ।’
लिङथेपले उठेर सभामुखलाई सोधे यहीँ व्यवस्थामा बसेर यहीँ सदन भित्र खारेज हुनुपर्छ भनेर माग पाइने कि नपाईने ?’ उनले संघीयता खारेजको विषयलाई आपत्ति जनाउँदै संविधान विरोधी विषय भएको बताए ।
उनले ‘डलर खाने’ शब्दलाई रेकर्डबाट हटाउन माग गरे । बजगाईं र लिङथेनको सवालजवाफकाबीचमा नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा उठेर ‘राजा’ शब्द रेकर्डबाट हटाउन माग गरे ।
केहीसमय सवालजवाफपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ र‘डलर खाएको’ शब्दलाई रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । ‘एउटा राजा शब्दलाई हटाइयोस् भन्ने छ,त्यसलाई रेकर्डबाट हटाइयोस् मैले रुलिङ गरे,’ उनले भने,‘ डलर खाने भन्ने कुरा छ, यसको स्पष्ट प्रमाण नभएको हुनाले यो पनि रेकर्डबाट हटाइनेछ ।’ त्यसपछि संसदमा बोलेका राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटोलाले जनताले राजालाई चिनेको दाबी गरे । उनले भने,‘ जनताको मनमनमा राजा छन् ।’

























