
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणधीन केबलकारकाे विषयमा देखिएकाे विवाद तत्काल समाधान गर्न काेशी प्रदेशका सांसदहरुले माग गरेका छन् । आइतबार प्रदेशसभाको शून्य समय र विशेष समयमा बाेल्ने क्रममा सांसदहरुले तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल केबलकार निर्माणको काम रोकेर वार्ता मार्फत समस्या समाधान गर्न माग गरे । ‘एउटा व्यापारीको प्रलोभनमा परेर सरकारले नागरिकमाथि दमन गर्ने र नागरिकमाथि गोली हानेर जबरजस्ती विकास र व्यापारका नाममा जुन गतिबिधि गरिरहेको छ, यो उचित छैन,’उनले भने,‘ तत्काल केबलकार निर्माण रोकिनुपर्छ, त्यहाँबाट(निर्माण क्षेत्रबाट) फिर्ता बोलाएपछि स्वत स्थीति शान्त हुन्छ ।’
उनले मन्त्रीस्तरमा वार्ता गरेर केबलकार निर्माण गर्ने वा नगर्ने निष्कर्षमा पुग्न आग्रह गरे । ‘केबलरकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाई निकास खोज्नुपर्छ’ उनले भने, ‘निषेधाज्ञा र कफ्यु लगाएर स्थानीय समुदायमाथि गरेको दमन सैह्य हुँदैन ।’
विशेष समयमा बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले आन्दोलनका नाममा नागरिकको घरघरमा आगोको पुल्ठो फाल्नु गलत भएको बताए । आगो घरघरमा फाल्दा नागरिक त्रसित भएको उनले बताए । उनले केबलकारको पक्ष र विपक्षमा देखिएको परिस्थीतिलाई धेरै लामो राख्न नहुने बताए । ‘नेपाल सरकार र आन्दोलनरत पक्षलाई जतिसक्दो छिटो समस्या समाधान गर्न आग्रह गर्छु,’ उनले भने,‘ बनाउने हो भने आन्दोलनरत पक्षलाई सहमत बनाएर अघि जानु पर्याे, नबनाउने हो भने बनाउनुपर्छ भन्ने पक्षलाई सहमतिमा लिएर अघि जानु पर्याे, तर यो परिस्थीति लामो समयसम्म राखिरहन हुँदैन ।’
विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारलाई आग्रह गरे । ‘मुकुम्लुङ क्षेत्रको सम्बन्धमा सरकार किन व्यवस्था गर्छ, किन भिडन्तमा लैजान्छ ? प्रहरी प्रशासन र जनतालाई किन भिडाएर बसेको ?’उनले भने,‘ सरकार किन सिरियस हुँदैन, कोशी सरकार के हेरेर बसेको छ, किन चुक्क पनि बोल्दैन ?’
जसपा सांसद निर्मला लिम्बूले विशेषसमयमा बोल्दै सरकारले मुकुम्लुङ क्षेत्रमा खटिएका नागरिकलाई दमन गरेको बताइन् । सरकारले नै अहिलेको अवस्था सृजना गरेको उनले बताइन् । ‘व्यक्ती चन्द्र ढकाल आफैले अहिलेको अवस्थामा पुर्याउनु भएको होइन,’ उनले भनिन्,‘… यति अमानवीय व्यवहार भइरहदा पनि प्रदेश सरकार मौन रहन कुन नैतिकताले दिन्छ ।’
उनले राज्यले नागरिकमाथि चरम दमन गरेको दाबी गरिन् । उनले भनिन्,‘ मेरो जिल्ला (ताप्लेजुङ) शान्तिपूर्ण जिल्ला हुनुपर्याे, एउटा नाफा मुलक कम्पनीको आडमा असान्ति मच्चाउने र जनतालाई मध्यरातमा बसिरहेको सुतिरहेको अवस्थामा प्रहरी प्रशासनले दमनपूर्ण ढंगले साशन आफ्नो शक्ति प्रयोग गर्न पाउँदैन ।’
त्यसअघि प्रदेशसभाको शून्य समयमा बोल्ने क्रममा सांसद विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीपकुमार सुनुवार, सविना बजगाईं, प्रेमराज थाम्सुहाङ, गोबिन्द गिरीले पाथीभरा क्षेत्रको विवाद समाधान गर्न माग गरे ।

























