
विराटनगर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटनमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएका छन् ।
सोमबार अभियान उद्घाटनका क्रममा बोल्दै गरेको पोडिएम छेउमा कार्यक्रम सञ्चालक उभिएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएका हुन् । त्यसपछि उनले आफ्नाे मन्तव्य पुरा गरेनन् ।
उद्घाटन कार्यक्रममा रिसाएका श्रेष्ठ त्यसपछि झापा गाउँपालिकामाम आयोजित सभामा भने सहभागी भएनन् । ‘झापा गाउँपालिकामा अयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्षज्यू आउनु भएन्, उद्घाटन सत्रको रिसले होला ।’ माओवादी केन्द्रका एक नेताले भने ।
कचनकवलको बनियानीमा आयोजित कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सम्बोधन गरिरहेका बेला कार्यक्रमको सञ्चालकसमेत रहेका माओवादी झापाका संयोजक राजु आचार्य अग्नी नजिकै गएर उभिएका थिए । उद्घाेषक नजिकै आएपछि श्रेष्ठ रिसाए । श्रेष्ठकाे रिसलाई सम्बाेधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केही मिस अन्डस्ट्यान्डिङ भएको’ बताएका थिए ।
‘तपाई यहाँ मलाई सक्नुहोस् भन्न आउनुभा हो ?, हो ? हो भने म जान्छु,’ उद्घोषकले होइन भनेपछि श्रेष्ठले भने,‘ अनि के त यहाँ टुप्लुक्क आएर बसेको ?’
त्यसपछि उद्घोष्क त्यहाँबाट हटे, नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्ड तर्फ हेर्दै भने,‘ म बिदा हुँ ?’
प्रचण्डले होइन, बोल्नुहोस् भन्दै जवाफ फर्काए, त्यसपछि असहज महसुस गर्दै भने,‘समयको एकदमै चाप छ, म थोरै कुरा भन्न चाहान्थे सायद सञ्चालक कार्यक्रमलाई धेरै चाप होला, म बिदा हुन्छु लाल सलाम ।’
त्यसपछि आयाेजित कार्यक्रममा नारायणकाजी सहभागी भएनन् ।

























