
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
बालुवाटारमा भोलि (शुक्रबार) साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल गर्ने तयारी छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण सरकारले ल्याएको अध्यादेश १ महिनादेखि अगाडि बढ्न सकेको छैन। गत साता नै सत्तापक्षको बैठक बसेर अगाडि बढाउने तयारी थियो ।
तर, राष्ट्रियसभामा निर्णायक जसपा (जनता समाजवादी पार्टी) नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि अध्यादेश अघि बढ्न नसकेको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।
अध्यादेशबारेको निर्णय पुर्नविचार गर्नको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई आग्रह गरिरहेका छन्। तर, यादवले उनीहरुको आग्रहलाई स्वीकार गरिसकेका छैनन् ।

























