
विराटनगर । नेकपा (एमाले)को १० औं मोरङ जिल्ला अधिवेशन उद्घाटनका लागि शनिबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आउने तयारी थियो । अन्तिम समयमा उनले उपाध्यक्ष रामबहादुर थापा बादललाई मोरङ पठाए ।
अध्यक्ष ओलीको सन्देश लिएर आएका उपाध्यक्ष बादलले अध्यक्षको सन्देश भन्दै कसैलाई गुटबन्दी गर्ने छुट नभएको बताए । ‘अध्यक्षको सन्देश लिएर यहाँ आएको छु’, उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने,‘ प्यानलको रुपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन ।’
उद्घाटन सत्रमा उनीभन्दा अघि बोलेका एमाले उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, कोशी प्रदेश इञ्चार्ज शेरधन राईलगायत नेताले पनि गुटबन्दी नगर्न आग्रह गरे । नेताहरुले गुटबन्दीलाई बन्देज गरे पनि जिल्लामा २ वटा प्यानल तयार भएको छ ।
अधिवेशनमा संस्थापन र इतर पक्षका नाममा २ वटा प्यानल बनेको हो । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।
ढकाल पार्टी राजनीतिमा मोरङमा प्रभाव जमाएका नेता हुन् । जिल्ला अधिवेशनका लागि छनोट भएका ९ सय १४ जना प्रतिनिधिमध्ये ६० प्रतिशत ढकालको पक्षमा रहेको उनीनिकट नेताहरु बताउँछन् । अर्को पक्षले भने ढकाल पक्षसँग ४० प्रतिशत मात्रै प्रतिनिधि भएको दाबी गर्छ ।
संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । उनले आफू संस्थापन पक्षको उम्मेदवार भन्दै भोट मागिरहेका छन् । उद्घाटन सत्रमा शनिबार प्रतिनिधिहरुसँग ओझाले आफ्ना लागि भोट मागेका थिए ।
विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ । थापाले पनि उपाध्यक्षका लागि भोट मागिरहेका छन् ।
ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए ।
संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । थापाले पनि भोट मागिरहेका छन् । सहसचिवको नाम भने टुंगो लाग्न भने बाँकी रहेको संस्थापन पक्षका एक नेताले बताए ।
फागनु १९ गते सोमबारसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।
मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

























