
धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको मुक्तिको जिम्मा पार्टीले लिने प्रतिबद्धता जनाएका छन् ।
धनुषाको कमला नगरपालिका–३ पर्सामा आइतबार बिहान आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाट कार्यक्रममा उनले अब आफूलाई मधेशको मसिहा ठान्ने दलबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको दाबी गरे । ‘मधेशी दलबाट मधेशी जनताको मुक्ति सम्भव छैन । अब त्यसको जिम्मा माओवादीले लिन्छ,’ प्रचण्डले भने ।
मधेशकै मुक्तिको जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीका सबै पदाधिकारी अहिले मधेशमा रहेको र मधेशी पोसाकमै प्रस्तुत भएकाले पोसाक मात्रै नभइकन मन पनि मधेशमा छ भन्ने प्रष्ट पार्न खोजिएको दाबी गरे । मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको उनको जिकिर छ ।
‘महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदानी गरेका छन्,’ प्रचण्डले भने, ‘मधेशी जनताको मुक्तिका लागि १ हजार ३ सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेका छन् ।’ मधेशी जनताको मुक्तिका लागि सबैभन्दा धेरै बलिदान गरेको माओवादीकै विषयमा अनेक प्रकारका भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
अब माओवादीविरुद्धको भ्रम च्यातेर माओवादी र मधेशी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास भइरहेको उनले बताए । मधेशी जनताको मुक्तिका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याउने, मधेश स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेशको विकासमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम माओवादीले नै गरेको प्रचण्डको दाबी छ ।

























