
विराटनगर । नेकपा (एमाले)मोरङको १० औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने आज हुने मतदान केही समय सरेको छ । सहमतिको प्रयासका लागि भन्दै मतदानको समय सारिएको हो ।
निर्वाचन समितिले आज बिहान ९ बजेबाट मतदान सुरु गर्ने तयारी गरेको थियो । तर नेताहरुले सहमतिको प्रयास गर्ने बताएपछि दिउँसो २ बजेका लागि सारिएको छ । २ बजेबाट मतदान सुरु हुने सम्भावना न्यून छ ।
५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् । मनोनयन फिर्ता लिने समय सकिएको छैन । मनोनयन फिर्ता भएपछि मात्रै मतपत्र छपाइ हुनेछ । त्यसपछि मतदानको प्रक्रिया प्रारम्भ हुनेछ ।
शनिबारदेखि शुरू भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, नेतृत्वको छनोटको विवाद नमिलेपछि अधिवेशन लम्बिएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् ।

























