
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनमा युवा खुल्ला सदस्यमा सबैभन्दा कान्छो प्रतिनिधि प्रवेश विष्टले उम्मेदवारी दिएका छन् ।
विष्ट २२ वर्षका मात्रै छन् । अधिवेशनबाट सदस्यमा १ सय ६० जना निर्वाचित हुने छन् । सदस्यबाहेक ५ जना पदाधिकारी निर्वाचित हुने छन् । अधिवेशनका लागि ३ सय २५ जनाले उम्मेदवारी दिएका थिए ।
तीमध्ये ७१ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनका लागि १ सय ९१ जनाको उम्मेदवारी कायम भएको छ । तीमध्ये विष्ट सबैभन्दा कान्छो उम्मेदवार हुन् ।
उनले पछिल्लो समय राजनीतिमा युवाहरुको वितृष्णा बढिरहँदा आफ्नो उम्मेदवारीले सकारात्मक सन्देश प्रवाह गरेको बताए । आजको राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका अत्यावश्यक रहेको उनको बुझाइ छ ।
एमालेनिकट अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिमा छिरेका विष्ट हाल अनेरास्ववियुको जिल्ला सदस्य हुन् । रतुवामाईको वडा नम्बर ९ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका विष्ट अब एमाले मोरङको कान्छो सदस्य बन्न लागि परेका छन् ।
विष्ट पत्रकार हुन् । पछिल्लो समय पत्रकारितालाई थाती राखेर सक्रिय राजनीतिमा लागेका छन् । उनले आफूलाई जिताएर पार्टीमा युवाको आवश्यकता छ भन्ने सन्देश दिन प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

























