
विराटनगर । विराटनगर महानगरपालिका–१ मा वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
साविकको वडा कार्यालयबाट पश्चिमतर्फ १ कट्ठा ६ धुर जग्गा नयाँ भवन निर्माण गरिएको हो । भवन उद्घाटनमा विराटनगर–१ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायत उपस्थित थिए ।
यसअघि भवन निर्माण गरिएको ठाउँमा दमकलहरु राख्ने वारुणयन्त्र भवन थियो । उक्त जीर्ण भवनलाई भत्काएर सोही ठाउँमा वडा कार्यालयका लागि सुविधासम्पन्न आधुनिक भवन निर्माण गरिएको हो ।
भवन निर्माणमा विराटनगर महानगरपालिकाको २ करोड २ लाख ३६ हजार ९ सय ४५ रुपैयाँमा खर्च भएको छ । नवनिर्मित ३ तल्ले भवन २ हजार १ सय १३ ‘स्क्वायर फिट’को छ । काठमाडौंको निर्माण व्यवसायी कम्पनी विराट कालीमाई कन्स्ट्रक्सन प्रा.लिले भवन निर्माणको ठेक्का पाएको थियो ।
नवनिर्मित भवनको भुइँतल्लामा १२ कोठासहित २ वटा सटरहरु छन् । यस्तै माथिल्लो २ तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा हल, ‘स्टोर’लगायत राखिएको छ । अपांगतमैत्री नवनिर्मित भवमा लिफ्टसमेत राखिएको छ ।
महानगरका भवन समयअनुकूल बनाउन उपयुक्त हुने मेयर कोइरालाले बताए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई समेत उक्त भवनको दोस्रो र तेस्रो तलामा पुगेर सेवा लिन सहज हुने उनको भनाइ छ ।
यसअघि व्यवस्थित र फराकिलो भवन नभएका कारण सेवा प्रवाहमा समस्या झेल्दै आए पनि नयाँ भवन बनेपछि सेवा दिन सहज हुने विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताए । भवन निर्माणका लागि २०८० भदौ ६ गते ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार २०८१ चैत ३० भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । यद्यपि निर्माण कम्पनीले निर्माण अवधिअघि नै भवनको काम सकेर महानगरलाई हस्तान्तरण गरेको हो महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले बताए ।
थापाका अनुसार अन्य ६ वटा वडाका भवन पनि ठेक्का लागिसकेको छ । यसअघि धेरै वडा कार्यालयहरु भाडाका घरबाट समेत सञ्चालन हुँदै आएका थिए ।























