
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभा बैठकलाई आज (मंगलबार) विशेष सम्बोधन गरेका छन् । उनले १ घण्टा ५ मिनेट सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले आफूलाई वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ केन्द्रित भएको बताए । जनताका कुरा सुन्न र जनताका भावनालाई सम्बोधन गर्न आफू तयार रहेको ओलीले बताए ।
उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको बताए । मुलुकलाई अगाडि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने उल्लेख गर्दै ओलीले अरुको सहायतामा बाँच्छु भन्ने कुरालाई त्याग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नेपाली अब आफ्नै बलमा बाँच्नुपर्ने बताए ।
‘वनसँग सहमति गरेर वन क्षेत्रमा फलफूल खेती गर्न र त्यसमा कृषकलाई जोड्न सकिन्छ । साना उद्योग स्थापना गर्न जनतालाई सहयोग गर्नुपर्छ । नजानेमा सिकाउनुपर्छ । जनप्रतिनिधिले पुलको काम गरौं । यसो भयो भने जनतालाई विकासमा जोड्न सकिन्छ,’ ओलीले भने । भावनामा बगेर नभइकन देशलाई अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
‘दुनिया अगाडि बढिसकेको हुन्छ । हामी ठूला कुरा गरेर बस्छौं । पछाडि पर्छौं । हाम्रो देश गरिब भइरहन्छ,’ ओलीले भने, ‘जनतालाई बचतको स्थितिमा पुर्याउन सकियो भने र आम्दानीलाई बचतमा परिणत गरियो भने देश धनी हुन्छ । जनता धनी हुन्छन् । जनताको जीवनस्तर पनि उक्सिन्छ ।’ उत्पादन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्नेमा उनको जोड छ । ओलीले मानव जातिले विकास गरेका सुविधाको समुचित प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
‘मुलुकमा केही नभएको हैन, विकास धेरै भएको छ । ३३ प्रतिशत महिला आज ‘पार्लियामेन्ट’मा हुनुहुन्छ । हामीले आरक्षण बढोस् भन्दा पनि क्षमता वृद्धिको अवसर पाउनुपर्छ भन्ने कुरा हो । दक्ष नागरिक उत्पादन आजको आवश्यकता छ । सबै कुरा मानवको हित, कल्याण र भविष्यका लागि हाम्रा प्रयासलाई सचेत र योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले प्रदेशसभाले राम्रा काम तर्जुमा गर्ने र त्यसको कार्यान्वयन प्रदेश सरकारले राम्ररी अगाडि बढाउने विश्वास लिएका छन् ।
उनले प्रदेश सरकारलाई सहयोग गर्न संघीय सरकार तयार रहेको बताए । जनता र जनप्रतिनिधिका कुरा सुन्नका लागि सरकार बनेको उनको जिकिर छ । ओलीले राजनीतिक व्यवस्थासँगै मुलुकको अवस्था पनि परिवर्तन भएको बताए । उनले केही भएन भन्ने भाष्य गलत भएको दाबी गरे । जनताको अवस्थामा पनि सुधार भएको उनको भनाइ छ ।
उनले कृषिको क्षेत्रमा ध्यान नपुगेको बताए । कृषिलाई विकास र समृद्धिको आधार बनाउने योजनामा सरकार रहेको ओलीले बताए । आधारभूत आवश्यकता पूरा गरी गरिबी हटाएर समृद्धिको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहेको ओलीले बताए ।
सरकारले कृषि, पर्यटन, व्यापारसहित बृहत् क्षेत्रमा काम गरिरहेको बताउँदै उद्यमशीलताको विकासका लागि सरकारले ध्यान दिइरहेको बताए । सरकारी जागिर थोरैले प्राप्त गर्ने बताउँदै उनले उद्यमशीलतामा जोड दिइरहेको उल्लेख गरे ।
ओलीले देशलाई आवश्यक पर्ने श्रमिकको संख्या पर्याप्त नभएको पनि बताएका छन् । मुलुकको निर्माण व्यवसायको क्षेत्रमा मात्रै २० लाख श्रमिक आवश्यक रहेको उनको भनाइ छ । ‘निर्माण व्यवसायको क्षेत्रमा नै २० लाख श्रमिक चाहिएको छ । तर, ६–७ लाख मात्रै श्रमिक छन् । त्यो पनि पारिपट्टी (भारत)बाट ल्याएर काम गर्नु परेको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले श्रमिकमा दक्षता र व्यावसायिक तालिमको अभाव रहेको बताए । ‘श्रमिकलाई व्यावसायिक तालिमको अभाव छ । जसका कारण श्रमिकले काम नपाउने समस्या छ । अनि काम पाइएन भनेर मान्छे विदेश जान्छन् । प्रविधिको प्रयोग गर्न श्रमिकले सकेका छैनन् । प्रविधिको प्रयोगमा श्रमिकलाई दक्ष बनाउन हामीले पहल गरिरहेका छौं,’ उनी भन्छन् ।
उनले केही गैरसहकारी तत्व सहकारीमा प्रवेश गरेको पनि बताए । ‘गैरसहकारी तत्वलाई सहकारीमा प्रवेश गर्न दिन हुँदैन थियो । त्यसले गर्दा सहकारीको बदनाम भयो,’ उनले भने । कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवस्थित गर्नेतर्फ सरकारले काम गरिरहेको उनको भनाइ छ ।
‘मुलुकलाई पछाडि फर्काउने हैन । अगाडि बढाउने हो । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गजस्ता ठूलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । दिगो विकास लक्ष्य भेट्नका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको छ,’ ओलीले भने ।
उनले कोशी प्रदेशमा गरिबी निवारण चाँडो गर्न सकिनेसमेत बताए । ओलीले गरिबी निवारणको काम कोशीमा चाँडो गर्न सकिने बताएका हुन् । २० प्रतिशतभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै उनले कोशी प्रदेशमा निरपेक्ष गरिबीको संख्या अलि थोरै रहेको उल्लेख गरे ।
कोशी आफ्नो गृहप्रदेश भएको बताउँदै ओलीले कोशी प्रदेशको विकास तीव्र गतिमा हुनुपर्नेमा जोड दिएका छन् । व्यवस्थाविरुद्ध आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो भनेर प्रश्न गरेका छन् । राम्रो प्रणालीका लागि तयार रहेको बताउँदै उनले लोकतान्त्रिक प्रणालीको बाटोबाट नै सरकार अघि बढ्ने स्पष्ट पारे ।
‘अहिले शान्ति र एकता चाहिएको छ । हाम्रो देश विविधतायुक्त भएकाले हामीमा एकता हुनुपर्छ । यति सानो देश यति विविधतायुक्त छ । यसमा एकता पनि छ । पहिले विभेद थिए । राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौं । जनतन्त्रमा छौं,’ ओलीले भने ।
सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता कायम गर्ने ढंगले अघि बढ्नुपर्ने आवश्यता रहेकोमा ओलीको जोड छ । ‘देश विकासका लािग शान्ति चाहिएको छ । अब पछाडि फर्कन सक्दैनौं । आफ्नो क्षमताको हिसाबले जो पनि अघि बढ्न सक्छ,’ उनले भने ।
उनले नागरिक सर्वोच्चता भएको प्रणालीबारे स्पष्ट रहेको बताए । २ पटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान निर्माण गरेको बताउँदै उनले यसलाई दुईतिहाइले संशोधन गर्नसक्ने उल्लेख गरे । सबैसँगको सहमतिमा संविधान संशोधन गर्न सकिने उनको भनाइ छ ।
























