
काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा चैत १५ गते प्रदर्शन गर्ने भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।
पत्रकार सम्मेलन गर्दै मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशमा अप्ठ्यारो अवस्था सृजना भएको जनाएको छ ।
देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त बनाएको दाबी गरेको छ ।
‘राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ मोर्चाले भनेको छ,‘ सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ ।’
























