
काठमाडौं । वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा राज्य सम्यन्त्र पुग्न नहुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए । ‘यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्,’ उनले भने ।
जनतामा असन्तुष्टि बढेको बताउँदै उनले व्यवस्था बदल्नका लागि पुरानोतिर फर्कने नभई अग्रगमन अघि बढ्नु पर्ने बताए ।
‘व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन,’ उनले भने,‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् ।’
























