
विराटनगर । विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे ५ दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
यस कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा विगतमा भएको कविता महोत्सवमा पुरस्कार प्राप्त गरेका मध्ये इटहरीका टीका आत्रेय तथा इनरुवाका कृपाकरुणा पोखरेलले कविता वाचन गरे ।
यसका साथै बाबुराम पोखरेल, यल.पी. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइँटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पाैडेल, जयन्त प्रधानाङ्ग, भरत बर्बरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भूनाथ कार्कीलगायत ४ दर्जन साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए ।
मञ्चले विगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ । यसै क्रममा अग्रज साहित्यकार डा. भण्डारीलाई घरैमा गएर सम्मान गरेको हो ।



















