
विराटनगर । राजसंस्था पुनःस्थापनाका लागि भन्दै पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा गठन भएको समिति विवादमा तानिएको छ । सोमबार दिउँसो राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ । समितिमा राखिएका सदस्यहरुले नबस्ने बताएपछि विवादमा तानिएको हो ।
सुवेदीको नेतृत्वमा गठन भएको समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् ।
राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरुलाई समितिको सदस्य राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
राजावादी अभियन्ता केशरबहादुर विष्टले पनि समितिमा आफू नबस्ने बताएका थिए । समितिको सल्लाहकार राखेको भन्दै सल्लाहकार राजेश अधिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।
























