
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै कविता रचना गरेका छन् ।
आइतबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा ओलीले कविता वाचन गरेका हुन् । कविता उनी आँफैले लेखेका हुन् ।
यस्तो छ ओलीको कविता
अञ्जुली भित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ
एउटा बृहत् मिलन, सम्मिलन
एउटा सङ्कल्प सुवर्ण हिमवत्खण्डको
कथा–हाँगाबाट भुइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !
तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथि बिष्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यहि छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !
























