
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई खुला गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
गत चैत ३ गते उनले संसदको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसपछि उनको संसद भित्र र बाहिर आलोचना भइरहेको छ ।
बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले आफ्ना व्यक्तिगत धारणा भएको भन्दै क्षमायाचना गरे ।
‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन,’ उनले भने,‘सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’
























