
काठमाडौं । राज्यकोष र निजी क्षेत्रबाट तलब खानेहरूको तलबबाट २ प्रतिशत कट्टा गरी स्वास्थ्य बिमा कोषमा जम्मा गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलबको २ प्रतिशत रकम स्वास्थ्य बिमा कोषमा योगदान गर्ने प्रणालीको विकास गरे सहज हुने उनको भनाइ छ ।
‘हामीले बिमा ऐनमा एउटा नीति बनाएका छौँ। यदि म बिमामा जोडिए भनेँ मैले ३५०० रुपैयाँ तिरे हुन्छ, मैले खाने तलबबाट २ प्रतिशत बिमामा योगदान गर्ने व्यवस्था भयो भने मैले १७ हजार तिर्नुपर्छ,’ उनले भने,‘राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले र संगठित तथा निजी क्षेत्रमा तलब खानेहरूले बिमा प्रणालीमा योगदान गर्ने प्रणालीको विकास गरौं । तलब खानेहरूले बिमा कोषमा योगदान गर्ने स्थिति विकास गरौं ।’

























