
काठमाडौं । शनिबार गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्ख्यौली थलो आइपुग्दा आफूलाई खुसी लागेको बताएका छन् ।
उनले गोरखामा रहेको गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै गोरखा आफ्नो जन्मथलो नभए पनि पुर्खाको भूमि भएकाले यहाँ आउन पाउँदा आनन्द महसुस भएको सुनाए ।
गोरखा मेरो जन्मथलो नभए पनि मेरो पुर्खाको थलो हो । यहाँ आएर सबैलाई भेट्न पाउँदा पनि धेरै नै खुसी लागेको पूर्वराजा शाहले बताए ।
देशमा शान्तिको आवश्यकता रहेको औंल्याउँदै कसैले पनि अरूको अहित नसोच्नुपर्ने बताउँदै, पूर्वराजा शाहले भने, ‘देशमा अहिले शान्ति चाहिएको छ । कसैले कसैको कुभलो नचिताओस्, सबैको भलो होस् । देशमा शान्ति र विकास होस्, सबैलाई सुख समृद्धि प्राप्त होस् मेरो कामना छ ।’
शाहवंशीय राजाहरूको कुलदेवताका रूपमा पुजिने गोरखकाली मन्दिर गणतन्त्र स्थापनापछि उनी पहिलो पटक पुगेका हुन् ।
उनले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरे भने गोरखकाली मन्दिरमा करिब २ घण्टा बिताए । उनले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरे ।
आइतबार मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जाने कार्यक्रम रहेको छ । यस भ्रमणका क्रममा पूर्वराजाका समर्थकहरूले केही समय राजसंस्था पक्षधर नारा लगाएका थिए ।
























