
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन बहुमत पुर्याएर मात्रै हुने बताएका छन् ।
नेकपा एमाले निकट रहेका पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले अब हुने राष्ट्रियसभाको चुनावमा २ तिहाइको बहुमत पुर्याएर मात्रै संविधान संशोधन हुने प्रस्ट्याए ।
संविधान संशोधनका लागि २ तिहाइको आवश्यकता पर्ने र अहिले राष्ट्रियसभामा बहुमत नभएकाले संविधान संशोधन गर्न नसकिएको बताए ।
उनले राष्ट्रियसभामा नेपाली काँग्रेस र नेकपा एमालेको बहुमत पुर्याएर संविधान संशोधन गर्ने जिकिर गरे ।
काँग्रेस र एमाले जुन उद्देश्य राखेर एक ठाउँमा उभिएका छन्, त्यसका लागि पहिले संविधान संशोधन आवश्यक रहेको स्पष्ट पारे ।
संविधान संशोधन र देशमा स्थिरता कायम गर्न २ ठूला दल एक ठाउँमा उभिएको बताए ।
उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै दिवा सपना नदेख्न पनि राजावादीलाई चेतावनी दिए ।
























