
काठमाडौं । प्रमुख दलका तीन दलका शीर्ष नेताले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउनका लागि पुन सिफारिस समिति गठन गर्ने सहमति गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाबीचकाे भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमति भएकाे हाे ।
‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो । सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले भने ।
























