
विराटनगर । अपांगता भएका व्यक्तिहरुमाथि तस्करी गर्ने गरेको आरोप लाग्ने गरेको छ । उनीहरुले ‘ह्वीलचेयर’को प्रयोग गरी भारतको जोगवनीबाट दैनिक उपभोग्य वस्तु ल्याएर विराटनगरका व्यापारीलाई बिक्री गर्ने गर्छन् ।
तर, त्यसबापतको भन्सार महसुल तिर्दैनन् । व्यावहारिक समस्या हेरेर प्रशासनले पनि खासै वास्ता गरेको थिएन । तर, अपांगता भएकाले ठूलो परिमाणमा तस्करी गर्ने गरेको आरोप लागेसँगै पछिल्लो समय स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । अपांगता भएकाहरु भने सरकारले रोजगारीको ग्यारेन्टी नगरेका कारण जीविकोपार्जनका लागि सीमापारिबाट सामान ल्याएर बिक्री गर्नुपर्ने आफूहरुको बाध्यता रहेको बताउँछन् ।
उनीहरुले सरकारसँग रोजगारीको माग गरेका छन् । सरकारले रोजगारीको ग्यारेन्टी गरिदिए ‘तस्करी’ गर्न छाड्ने उनीहरुको अडान छ । सरकारले गरिखाने व्यवस्था गरिदिनुपर्ने माग गर्दै अपांगता भएकाहरुले आन्दोलन थालिएको घोषणा गरेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी प्रशासनले कडाइ गर्न थालेपछि अपांगता भएकाहरु आक्रोसित बनेका छन् । उनीहरुले सरकारसँग रोजगारीको व्यवस्था गरिदिन माग राख्दै बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनीहरुले भने, ‘सरकारले रोजगारीको ग्यारेन्टी गर्नु पर्यो कि त भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्रीवितरण गर्नलाई रोक लगाउन भएन ।’
विराटनगरका अरुण साहले जीविकोपार्जनको वैकल्पिक व्यवस्था नभएका कारण खाद्यान्नलगायतका वस्तु ओसारपसार गर्नुपर्ने अवस्था रहेको बताए । तर, प्रहरीले कडाइ गरेपछि जीविकोपार्जनमै समस्या हुन थालेको उनको भनाइ छ । ‘सरकारले जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्नुपर्यो । नत्र हामीले सामान ओसारपसार गर्दा तस्करीको आरोप लगाएर कडाइ गर्न भएन,’ साहले भने ।
प्रहरी प्रशासनले एउटा समूहलाई मात्रै सधै कडाइ गर्ने गरेको गुनासो अपांगता भएकाहरुको छ । ‘हामीजस्तै अरु पनि ‘ह्वीलचेयर’मा सामान ओसारपसार गर्नेहरु छन् । उनीहरुलाई केही गरिँदैन । प्रहरी प्रशासनबाट अपांगता भएकाहरुलाई दोहोरो व्यवहार भयो । हामी सोझो हिसाबले गरिखानेहरु समस्यामा पर्न थाल्यौं,’ साहले भने ।
विराटनगरका सञ्जय थापाले सबैलाई एकैखालको व्यवहार गर्नुपर्ने बताए । ‘हामी विराटनगरलगायत आसपासका व्यक्ति हौं । जो भए पनि नेपाली नागरिकलाई समान व्यवहार गरिएको छैन । हामी जोगवनीबाट दैनिक उपभोग्य वस्तु ‘ह्वीलचेयर’मा ल्याएर विराटनगरका विभिन्न किराना पसलमा दिन्छौं र केही पैसो कमाउँछौं । जसले गर्दा हाम्रो घरपरिवार चलेको छ । हामीहरु २ नम्बरी (तस्करी)को काम गरेर सामान ल्याउँदैनौं । तर, पनि प्रहरी प्रशासनले सधैं हामीलाई नै समस्यामा पार्छ,’ उनले भने ।
रानी नाकामा पछिल्लो केही समयदेखि वीरगन्जबाट आएकाले र भारतीयले ‘ह्वीलचेयर’मा सामान ओसारपसार गर्ने गरेको गुनासो अपांगता भएकाहरुको छ । उनीहरुले विराटनगरका व्यापारी विनोद केसरी र मुकेश केसरीका लागि काम गर्दै आएको थापाले बताए । ‘जतुवाका केही व्यक्ति र केसरीद्वयले भारत र वीरगन्जबाट ‘ह्वीलचेयर’ लिएर आएकालाई प्रयोग गरिरहेका छन् । उनीहरुले १ पटकमा एउटा ‘ट्राइसाइकल’मा १० बोरा मटर, चिनीजस्ता सामान ल्याउँछन् । उनीहरुलाई प्रहरीले केही गर्दैन । निर्वाध रूपमा उनीहरुले तस्करी चलाइरहेका छन् । तर, हामी १५ वर्षदेखि काम गरिरहेकालाई बारम्बार दुःख दिने काम हुन्छ,’ उनले भने ।
अपांगता भएकाहरुले विराटनगर महानगरपालिका र सीडीओ कार्यालय (जिल्ला प्रशासन कार्यालय)मा बारम्बार समस्या राख्दासमेत बेवास्ता गरिएको गुनासो पोखे । सम्बन्धित निकायको बेवास्ता र आफूहरुलाई दिएको अनआवश्यक दुःखका कारण आन्दोलित हुनुपर्ने अवस्था आएको उनीहरुले बताए ।
‘वीरगन्ज र जोगवनीबाट आएकालाई कारबाही गरिदिन माग गर्दै निवेदन दिएका छौं । उनीहरुलाई केही गरिएन । हामीलाई अनआवश्यक दुःख दिने काम भयो । त्यही भएकाले आन्दोलन घोषणा गरिएको हो,’ साहले भने । उनले अपांगता भएका व्यक्तिहरुको सन्तानका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुका साथै अपांगता भएकालाई सरकारले रोजगारीको व्यवस्था गरिदिए ‘ह्वीलचेयर’मा सामान ओसारपसारको काम छाड्ने बताए ।
‘सरकारले आयआर्जनको वैकल्पिक बाटो बनाइदिनु पर्छ । नत्र हामीले कसरी बाँच्ने ?,’ उनले प्रश्न गरे । विराटनगर महानगरपालिका र आसपासका अपांगता भएका केही व्यक्तिहरुले भारतीय बजार जोगवनीबाट दैनिक उपभोग्य वस्तु भन्सार नतिरिकन ल्याएर नेपाली बजारका किराना पसलमा बिक्री गर्दै आएका छन् । पछिल्लो समय ‘तस्करी’कै शैली अपनाएर ठूलो परिमाणमा ओसारपसार हुन थालेपछि प्रहरी प्रशासनबाट कडाइ गर्न थालिएको छ ।























