
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेकपा माओवादी केन्द्रले सरकारसँग माग गरेको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी भएकाले कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।
‘आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ,’उनले भनिन्,‘संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु ।’
























