
विराटनगर । मोरङको जहदाबाट प्रहरीले आज (बिहीबार) दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । अलगअलग स्थानबाट १ हजार १ सय २ किलोग्राम गाँजा बरामद भएको हो ।
लुकाइछिपाइ राखेको अवस्थामा जहदा गाउँपालिका–७ का २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ किलो गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
इन्स्पेक्टर खनाल नेतृत्वको टोलीले दिउँसो साढे १ बजेतिर कामतको घर खानतलासी गर्दा गाँजा फेला परेको जोशीले बताए । गाँजा बरामद गरेर कामतलाई पनि पक्राउ गरिएको जानकारी उनले दिए ।
त्यस्तै, जहदा –५ का ३३ वर्षीय अरविन साहको घरबाट १४ किलो गाँजा बरामद भएको छ । इन्स्पेक्टर खनाल नेतृत्वको टोलीले दिउँसो करिब २ बजेतिर साहको घरमा छापा हानेको थियो ।
गाँजा बरामद भएपछि साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवै ठाउँबाट बरामद भएको गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।
बरामद भएको गाँजा भारततिर कटाउने तयारी रहेको प्रहरीको भनाइ छ । ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिक पर्छ । घरमा भण्डारण गरेर राखिएको गाँजा भारततिर कटाउन लागिएको आशंका छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने ।
उनका अनुसार गाँजा कहाँबाट ल्याएर भण्डारण गरिएको हो भन्ने बारेमा यकिन भइसकेको छैन । यद्यपि, पूर्वी पहाडी जिल्ला धनकुटामा उत्पादन हुने गाँजा त्यहाँको प्रहरीसँग ‘सेटिङ’ मिलाएर भारत कटाउन सीमा क्षेत्रमा ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी स्रोतका अनुसार नेपालमा भन्दा भारतमा गाँजाको मूल्य दोब्बर छ । नेपालमा प्रतिकिलो २० हजार रूपैयाँसम्ममा किनबेच हुने गाँजा भारत पुर्याएपछि किलोको ४० हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको प्रहरी अधिकारीहरुको दाबी छ ।
स्रोतका अनुसार धनकुटालगायत पहाडी जिल्लामा प्रहरीकै ‘सेटिङ’मा गाँजाको अवैध खेती हुने गरेको छ । खेती गरेर उत्पादन गरिएको गाँजा विभिन्न बाटोको प्रयोग गर्दै भारत पुर्याउने गरिएको हो ।

























