पाँचथरमा वनको डढेलोमा परेर घाँस काट्न गएकी युवतीको मृत्यु, ३ जना घाइते

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार ०६:३५

विराटनगर । पाँचथरमा वनमा लागेको डढेलोमा परेर घाँस काट्न गएकी युवतीको मृत्यु भएको छ । बालिकासहित ३ जना महिला गम्भीर घाइते भएका छन् ।

कुम्मायक गाउँपालिकाको निजी जंगलमा बिहीबार दिउँसो आगो लागेको थियो । कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा सल्किएको डढेलोमा घाँस दाउरा गर्न गएकाहरु परेको पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई दिउँसो २ बजेतिर घटनाको जानकारी आएको थियो । ‘वनमा एक्कासि डढेलो सल्किएछ । तलबाट सल्किएको डढेलोमा ४ जना परेछन् । उनीहरु आगो लागेको ठाउँभन्दा माथि थिए । कतै पनि भाग्न सक्ने अवस्था भएन । तलबाट एक्कासि सल्किएको आगोले ४ जना जलेका हुन्,’ डीएसपी बुढाथोकीले भने ।

उनका अनुसार आगोले जलेर कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उपचारका क्रममा राति करिब ९ बजेतिर चिकित्सक मृत घोषित गरेको जानकारी बुढाथोकीले दिए । उनका अनुसार आगोमा जलेर २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन् ।

गम्भीर अवस्थाका उनीहरुको धरानमै उपचार भइरहेको छ । आगोले जलेर घाइते भएका सबै जनालाई प्रहरीले उद्धार गरेर उपचारका लागि धरान पठाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.