
रौतहट । यसवर्षको चैती छठ पर्व आज (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा समापन भएको छ ।
भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिंगडा, ठकुवा, भुसुवालगायतका परिकारसहित अर्घ्य दिएका हुन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको थियो । छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ।
सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मधेशको प्राचीन मिथिला क्षेत्रमा वर्षमा २ पटक छठ मनाउने प्रचलन छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म वासन्ती वा चैती छठ मनाइन्छ ।
व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाई अर्घ्य दिएपछि चैती छठ पर्वको समापन भएको हो । विभिन्न नदी, पोखरी र जलाशयमा पुगेर भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
चैत शुक्लपक्षमा ४ दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथि आज परेको थियो । चैती छठ मंगलबारदेखि विधिवत रुपमा सुरु भएको हो ।
छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ । तराई मधेशमा छठको भिन्दै उल्लास र महत्व रहेको छ ।























