
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको बताएका छन् ।
चैत्र १५ गते तीनकुनेमा राजावादीका नाममा भएको हिंस्रक आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको उनको भनाइ छ । लोकतन्त्रमाथि धावा बोल्नेहरुको पहिलो निशानामा सञ्चारमाध्यम रहेको उनले बताए । संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्रको अभिन्न अंग सञ्चारमाध्यम लोकतन्त्र विरोधीहरूको पहिलो निशानामा पर्ने गरेको उल्लेख गरेका हुन् ।
लेखकले सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील रहेको बताए। मुलुकमा लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदा सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमणका घटना हुने गरेको उनको भनाइ छ।
गृहमन्त्री लेखकले भने, ‘चैत १५ गते तीनकुनेमा हिंसात्मक आन्दोलन भएको थियो । त्यतिबेला खोजीखोजी आक्रमण भएको छ। राजनीतिक दलका पार्टी कार्यालयहरूमा आक्रमण भएको छ। यी सबै कुराले पुष्टि हुन्छ कि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हो।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा यो सरकारको पहिलो दायित्व रहेको बताए ।
लोकतान्त्रिक अधिकारको निर्वाधरुपमा उपभोग गर्ने विषयमा कुनै वाधा व्यवधान गर्न नदिन सरकार संवेदनशील रहेको उनको भनाइ छ । शान्तिपूर्वक भेला हुने, आफ्ना विचार राख्ने, आलोना गर्ने अधिकार संविधानले नै दिएको उल्लेख गर्दै लेखकले भने, ‘तर, हिंसात्मक गतिविधिदेखि संविधान फाल्ने र च्यात्ने गतिविधि यो व्यवस्थालाई नै उल्ट्याउने गतिविधिहरु हुन् । त्यस्ता गतिविधिलाई सरकारले निष्तेज पार्छ ।’

























